व्यक्तिगत प्रदर्शन उत्कृष्ट हुँदाहुँदै पनि क्लबले अपेक्षाकृत उपलब्धी हासिल गर्न नसक्दा बार्सिलोनाका कप्तान लियोनल मेसी निराश बनेका छन्। जारी सिजन मेसीले बार्सिलोनाबाट कोपा डेल रेको उपाधि मात्र जितेका छन्।
च्याम्पियन्स लिगकोे अन्तिम १६ बाछ बाहिरिएको बार्सिलोना घरेलु लिग ला लिगाको उपाधि दौडबाट पनि बाहिरिसकेको छ। सिजनको शुरुवातमा नै बार्सिलोना छोड्ने घोषणा गरी अन्तिम समयमा ब्याक भएका मेसीका लागि यो सिजन पनि सोचेजस्तो फलदायी हुन सकेन।
यस सिजनको दौरान मेसीले बार्सिलोना छोड्ने चर्चा कहिल्यै सेलाएन। सिजनको अन्त्य हुँदै लाग्दा यस चचाए उत्कर्षमा पुगेको छ। मेसीको आगामी गन्तव्यका रुपमा फ्रेन्च क्लब पिएसजी र इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हेरिएको छ। पिएसजीले मेसीलाई भित्र्याउन यसअघि अफर नै गरिसकेको थियो। मेसीले बार्सिलोना छोड्न सक्नेमा स्वयं क्लब बोर्ड, प्रशिक्षक र उनका सहकर्मीहरु पनि सशंकित छन्।
‘मेसीले ला लिगामा ३० गोल गरिसकेका छन् र टिमलाई धेरै अंक दिलाएका पनि छन्। यो लियोका लागि प्रश्न हो। म र क्लब आशा गर्छौं मेसी हामीसँगै बस्नेछन्। यदि लियो थिएनन् भने हामीले गोल गर्न सक्छौं भन्नेमा शंका रहन्छ,’ बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोएम्यानले भनेका छन्।
मेसीका सहकर्मी जोर्डी अल्बाले पनि मेसीले क्लब छोड्नेबारे आफ्नो प्रतिक्रिया दिएका छन्। ‘मेसीका लागि यो क्याम्न नोउमा अन्तिम खेल हैन भनेर आशा गरौं। तर, निर्णय गर्ने अधिकार उनैलाई छ,’ अल्बाले भनेका छन्।