बिरामीको सेवा गर्दागर्दै आफैं संक्रमित भए, कोरोनाले डाक्टरकाे लियो ज्यान
कोरोना संक्रमणबाट सिरहामा एक डाक्टरको निधन भएको छ। लहान नगरपालिका वडा–६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणबाट ज्यान गएको हो।
३५ वर्षीय डा. चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्चालन गर्दै आएका थिए। उनी सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित भएका थिए। आफैंलाई संक्रमण भएपछि ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए।
स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगिएको थियो। नर्सिङमा लगिएको केही समयपछि नै उनको मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिएका छन्।