राष्ट्रिय सभा पदका आफ्ना उम्मेद्वार रामबहादुर थापा बादलको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मत मागेपछी निर्वाचन आयोगले चेतावनीसहितको विज्ञप्ती जारी गरेको छ। नेकपा एमालेकै मतदाताहरुले पनि बादलको पक्षमा मत नदिने देखिएपछी प्रधानमन्त्री ओलीले माधव कुमार नेपाल पक्षलाई लक्षीत गर्दै विज्ञप्ती निकालेका थिए।
जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको अवस्थामा मत माग्न नपाउने प्रावधान छ। निर्वाचन आयोगले मगंलबार नै मत माग्न नपाइने बताएको थियो। यसैविच बुधबार निर्वाचन आयोगले आचारसंहिता विपरीत केही व्यक्तिले विज्ञप्ति निकालेर मत मागेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
प्रधानमन्त्री ओलीले एमाले उम्मेदवार बादलको पक्षमा विज्ञप्ति निकालेर मत मागेको दिन आयोगले विज्ञप्ती जारी गरेको हो। ‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तर्वार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ’ प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन आचारसंहिता विपरीत मत मागेमा निर्वाचन आयोग ऐन २०७३ अनुसार कारबाहीको व्यवस्था छ। आयोगले अनुगमन गर्दा कसैले आचारसंहिता उल्लंघन गरेको देखिएमा त्यस्तो काम रोक्न आदेश दिन सक्ने व्यवस्था ऐनमा छ।
आचार संहिता उल्लंघन जारी राखेमा १ लाख जरिवाना र त्यस्तो कामबाट निर्वाचन नै प्रभावित हुने देखिएमा उम्मेदवारी नै रद्द हुने व्यवस्था पनि छ।