पछिल्लो २४ घण्टामा सात हजार ९८९ जना कोरोनाबाट निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। हाल देशभर ८५६ जना क्वारेन्टिनमा छन्।
गत २४ घण्टामा थप आठ हजार १७३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा पिसीआर विधिबाट आठ हजार ६४ र एण्टिजेन विधिबाट परीक्षण गर्दा १०९ जनामा पोजेटिभ देखिएको हो।
पछिल्लो २४ घण्टामा काठमाडौंँ उपत्यकामा मात्र दुई हजार ४८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंँमा एक हजार ९८८ जना, भक्तपुरमा २२८ जना र ललितपुरमा २७० जना गरी दुई हजार ४८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
चौबीस घण्टामा २४६ जनाको निधन
यस अवधिमा २४६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।हालसम्म कोरोनाका कारण पाँच हजार ६५७ जनाको मृत्यु भएको छ। हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १४ हजार ७१३ पुगेको छ।