आज चन्द्र र सुर्य देखेर शिर निहुराउन मन छैन्। सगरमाथा सम्झिएर शिर उचोँ पार्ने जाँगर पनि चलिरहेको छैन्। गौतम बुद्ध सम्झिएर छाती गर्वले फुलिरहेको छैन्। मनैदेखी धिक्कार लागिरहेको छ, नेपाली हुनुमा। हो नेपाली माटोमा जन्मिएकोमा मलाई ग्लानी भइरहेको छ, भित्रैदेखी।
छि ! म किन जन्मिएछु, केपी ओली, पुष्पकमल दाहाल, माधव नेपाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, उपेन्द्र यादव अनि महन्थ ठाकुरहरुजस्ता ‘नालायक’ जन्मिएको माटोमा। यो माटो मेरो हुँदै होइन, न यो देश मेरो हो। म त केवल एउटा दर्शक हुँ। ‘नेपाली नागरिकतारुपी टिकट’ लिएर चटकेहरुको चटक हेर्न बसेको दर्शक।
यिनीहरु देखाइरहेका छन्, नाङ्गो नाच। अनि म हेरीरहेको छु, टुलुटुलु। थपडी भने बजाउन सक्दिन्। किनभने मलाई यिनीहरुको चटक पटक्कै मन परिरहेको छैन्। ओली, प्रचण्ड, माधव र शेरबहादुरलाई शोलेको गब्बर देख्दैछु अनि बाबुराम, उपेन्द्र र महन्थलाई मिस्टर इन्डियाको मोग्याम्बो। हो, म यिनीहरुको अनुहारमा डरलाग्दा खलनायकहरुको विम्व देख्दैछु।
नेपाल छोड्न मरिहत्ते गर्ने ती १८ वर्षे कलिला विद्यार्थीहरु आज मलाई तीन दशक बाँचिसकेको ‘म’ भन्दा निकै परिपक्व लाग्दैछन्। कम्तिमा उनीहरुले ‘यो देश मेरो लागि होइन’ भन्ने त बुझेका रहेछन्। सलाम गर्न मन लाग्दैछ ती सबै बिदेशीएर उतैको नागरिकता लिएर बसेकाहरुलाई, सलाम।
अनि ह्रदयदेखी माफि माग्छु ‘नेपाल बस्न लायक देश होइन’ भन्ने ती सबैसँग जसको मैले प्रतिवाद गर्दै तथानाम भने। ‘हैन आफ्नो देश हो, यहाँ नै केहि गर्नुपर्छ’ भन्ने म गलत थिए, बिल्कुल गलत। म बल्ल अहिले बुझ्दैछु उनीहरुको कुरा। बल्ल खुल्दैछ मेरो आँखा।
अझै पनि केहि आशावादीहरुले गगन, विश्वप्रकाश, योगेश, घनश्यामहरुको नाम लेलान, महाबिर पुनको उदाहरण देलान। कोरोनाले लगेनछ भने देख्नेछौ तिमीले, म पनि हेरौलाँ यी आशलाग्दा नेताहरुको चटक पनि। यिनीहरुले ‘लिड क्यारेक्टर प्ले’ गर्ने दिन पनि छिट्टै आउदैछ।
विचरा महाबिर! एक टुक्रा फलामका लागि पनि दश जनाको अगाडी दश औँला फिँजाएको सायद उनलाई चिन्नेले देखिरहेकै छन्। तै पनि यीनले देखाएको साहसलाई चाँहि सलाम।
‘फ्रस्टेटेड म्यान’ – यति पढिसक्दा धेरैले यहि भनिसक्नुभयो होला मलाई। तपाईँहरु एकदम सहि हुनुहुन्छ, नेपालको न्यायालयभन्दा पनि धेरै सहि। सोह्रै आना सहि।
हो, म ‘फ्रस्टेसन’मा आएर नै यो सब लेखिरहेको छु। मलाई लाग्छ, ‘फ्रस्टेसन’मा आउन निकै ढिला गरे मैले। यो फ्रस्टेशन १८–२० वर्षकै हुँदा आएको भए म यहाँ हुन्थिन। हेर्नुपर्ने थिएन, गब्बर र मोग्याम्बोहरुको नाङ्गो नाच। बन्नुपर्ने थिएन, लाचार अनि बिवश दर्शक।
महामारी अरु देशहरुमा पनि छ÷थियो। कोरोनाले अरु देशहरुमा पनि मान्छे मरे÷मरिरहेका छन्। लकडाउन अरु देशहरुमा पनि भयो÷भइरहेको छ। तर, देश चलाउने ठेक्का पाएकाहरु यस्तो निर्लज्ज खेलमा भने लागेनन्। आफ्नो बुत्ताले भ्याएसम्म प्रयास गरे÷गरिरहेका छन्, आफ्नो नागरिक जोगाउन। केहि गर्न नसके पनि कम्तिमा यहाँजस्तो गिद्धे पारामा कुर्सीरुपी सिनोको लुछाँचुँडी त गरिरहेका छैनन्।
त्यहाँ पनि होलान विपक्षी दलहरु, कि छैनन्? त्यहाँको प्रधानमन्त्री, राष्ट्रपतीको कुर्सिको पावर पनि यहाँको जस्तै होला। त्यहाँका नेताहरुलाई पनि मन्त्रि–प्रधानमन्त्री बन्ने रहर पक्कै होला। तर, यो हदसम्म भने कुनै देशको नेताहरु गिरेको पाईँन। त्यसैले ‘फ्रस्टेशन’ भएको हो मलाई।
नेताज्यु, बन्द गर तिमीहरुको नाङ्गो नाँच, केहि समयको लागि। आउ हेर्न यहाँ, कोरोनाले तान्डव नाँचिराछ। धेरैको कोख रित्तिइसक्यो, धेरैको सिन्दुर पुछिइसक्यो, धेरै अनाथ बनिसके। कोरोना पनि तिमीहरु जस्तै नाङ्गै नाच्दैछ, चोक, गल्ली, बाटो, घर अनि अस्पतालहरुमा।
पत्यार लागेन? तिमीहरुकै सहपाठी बिजय गच्छेदार सोध, केहि दिनअघि मात्र श्रीमती गुमाए तिनले। राम्रोसँग बुझाईदेलान।
नेताज्यु, जनता अक्सिजन नपाएर मरिरहेका छन्, तिमीहरु कुर्सी नपाएर लडि रहेका छौ। सुहाएन, फिटिक्कै सुहाएन। हुन त लाजै नभएका तिमीहरुलाई सुहाए पनि के, न सुहाए पनि के?
तर, तिमीहरुको नाङ्गो नाच हेर्न दर्शक त चाहिएला नि? चाहिन्छ भने बचाउ आफ्ना दर्शकहरु। बिर्सिदेउ केहि दिनको लागि तिम्रो शरिरमा पावर भर्नेे कुर्सी। अनि जुट तिम्रो दर्शकको ज्यानमा प्राण अक्सिजन सिलिण्डरको जोहो गर्न। भिडेर लाग, आफ्ना दर्शक बचाउँन।
बाचेँछौ भने, फेरी पनि हेरौला तिमीहरुको नाङ्गो नाँच, थपडी बजाउदैँ। जोडदार थपडी।
सुरज डिजी खनालकाे याे पनिः
जनताको प्रश्न : नेताज्यू, सकियो चटक ? अब कोभिडतिर ध्यान दिने की?