कोरोना महामारीमा सहयोग र राहत प्रदान गर्नका लागि नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले पहलकदमी शुरु गरेको छ। संघका उपाध्यक्ष शेषराज भट्टराईको संयोजकत्वमा इक्यान कोभिड सहायता कोष अभियान र महासचिव दिपकराज भुसालको संयोजकत्वमा इक्यान कोभिड सहायता कक्ष सञ्चालन गर्ने निर्णय गरेको संघका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए।
‘संघका सदस्य तथा उहाँहरुका परिवारजन लगायत आम नेपाली नागरीकहरु समेतलाई संक्रमित भएको अवस्थामा उपचार तथा राहतको उद्देश्यका साथ अभियान शुरु गरेका हौँ,’ कोषका संयोजक भट्टराईले भने, ‘इक्यान, यसमा आवद्ध सदस्य तथा अन्य क्षेत्रका दाता संस्था एवम् व्यक्तिहरुबाट आर्थिक सहायता रकम संकलन गरि इक्यान कोभिड सहायता कक्ष मार्फत परिचालन गरिनेछ।’
इक्यान कोभिड सहायता कक्ष मार्फत संक्रमणको परिक्षण, कन्ट्रयाक्ट ट्रेसिङ्ग, चिकित्सकीय परामर्श, एम्वुलेन्स सेवा, अस्पताल भर्ना, अक्सीमिटर, रेमडिसिभिर लगायतका मेडिकल सप्लाईज, अक्सिजन सिलिन्डर र कन्सन्ट्रेसन, रगत, प्लाज्मा तथा कोभिड विरुद्ध खोप व्यवस्थापन र कोरोना पोजेटिभ विरामिलार्ई आपतकालिन सवै सहयोगका क्षेत्रमा परिचालन गरिने महासचिव एवम ईक्यान कोभिड सहायता कक्षका संयोजक भुसालले बताए।
‘यसरी इक्यान कोभिड सहायता कक्ष मार्फत सञ्चालन गरिने सबै सेवाहरु इक्यानका सदस्य तथा निजका परिवारजनलगायत अन्य आम नागरीकहरुलाई समेत यथासम्भव उपलव्ध गराइनेछ,’ महासचिव भुसालको भनाई छ। इक्यान कोभिड सहायता कोष अभियान सञ्चालन गर्न इक्यान केन्द्रिय कोषबाट रु.२, लाख ५१ हजार उपलव्ध गराई कोषको शुभारम्भ गरिएको इक्यान कार्यसमिती सदस्य आर्यन उप्रेतीले जानकारी दिए।
इक्यानले आफ्ना सबै सदस्य संस्थाका सञ्चालकहरु, आवद्ध कर्मचारीलगायत इच्छुक सबैलाई सहायता कोषमा क्षमताअनुसार आर्थिक सहयोग गरि विपतको घडीमा हातेमालो गर्न अपिल गरेको छ। ग्लोबल आइएमई बैंकको खाता नम्बर ३९०१०१००००५३३ र इसेवामा ९८४१३६०७२० मा सहयोग उपलव्ध गराउन सकिने इक्यानले जानकारी दिएको छ।