कोरोना सङ्क्रमितको उपचार हुँदै आएको बाँकेका अस्पतालमा मृत्युदर घटेको छ। दैनिक १५ देखि १७ जनासम्मको मृत्यु हुने गरेकामा अहिले घटेको हो।
अस्पतालकाे अनुसार गएरातिदेखि आज बिहानसम्म चार जनाको मात्र मृत्यु भएको छ। ती मृतक दाङ, बर्दिया र सल्यानका छन् भने पछिल्लो २४ घण्टामा बाँकेका सङ्क्रमितको मृत्यु शून्य छ। जिल्लाका अस्पतालमा अहिले भर्ना हुने बिरामी र मृत्यु हुने अधिकांश बाहिरी जिल्लाका सङ्क्रमित रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
उनका अनुसार, कोरोना सङ्क्रमणबाट हालसम्म जिल्लाका २८८ जनाको मृत्यु भएको छ भने विभिन्न बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचारका लागि आएका २७९ जनाको उपचारका क्रममा मृत्यु भएको छ। रासस