महिलाहरुको सक्रियतामा खुलेको संस्था हेल्पिङ वुमन कम्युनिटी नेपालले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। हेल्पिङ वुमन कम्युनिटीले नेपाल चिकित्सक संघलाई पिपिइ सेट र केएन ९५ मास्क प्रदान गरेको संस्थाकी सदस्य रुकिता प्रधानाङ्गले जानकारी दिएकी छन्। उनले २ हजार थान मास्क र २ सय ४० थान पिपिई सहयोग गरिएको बताइन्। उक्त स्वास्थ्य सामग्री कोरोना संक्रमणबाट बढी प्रभावित क्षेत्र पश्चिममा वितरण गर्नका लागि नेपालगन्ज पठाइने छ।
पहिलो चरणमा व्यक्तिगत सुरक्षा उपकरण र मास्क प्रदान गरेको तथा दोस्रो चरणमा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई यातायात र खानाको प्रबन्ध गर्ने योजना रहेको प्रधानांगले बताइन्। ‘त्यसका लागि स्रोत जुटाउँदै छौं,’ प्रधानाङ्ग भन्छिन्, ‘मुलुक विपतमा परेका बेला हाम्रोतर्फबाट पनि केही योगदान गरौं भनेर लागिपरेका हौं।’
जारी निषेधाज्ञाका कारण सामान संकलन गर्नै मुस्किल परेको उनको गुनासो छ। प्रारम्भिक चरणमा चार सय थान पिपिई हस्तान्तरण गर्ने योजना रहे पनि बजारमा गुणस्तरीय पिपिई नपाएकोले २४० थानमात्र हस्तान्तरण गरेको उनले जानकारी दिइन्।
यसका अलावा संस्थाले १३ जना असहायलाई राजधानीका विभिन्न विद्यालयमा पढाइरहेको छ। सिन्धुपाल्चोकमा पनि विपन्न परिवारका ८ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको र उनीहरुलाई १ देखि १० कक्षासम्मको सम्पूर्ण खर्च बेहोर्ने तयारी रहेको प्रधानांगले जानकारी दिइन्।