कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञाको एक महिना अवधिमा २०० महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसाका घटना भएको तथ्य अभिलेखीकरण गरिएको छ। महिला पुनस्र्थापना केन्द्र (ओरेक)द्वारा सञ्चालित दुई हटलाइन, २३ मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायिक सङ्घसंस्था सञ्चारमाध्यमबाट उक्त घटनाहरु अभिलेखीकरण गरिएका हुन्।
सङ्कलित घटनामध्ये सबैभन्दा बढी ४५ प्रतिशत अर्थात ९० महिला आफ्नै श्रीमान् र परिवारका सदस्यबाट हिंसा भोग्न बाध्य भएको तथ्याङ्कले देखाउँछ। घरेलु हिंसाका घटनामध्ये दाइजो नल्याएको वा कम ल्याएको र छोरी छोरी जन्माएको निहुँमा, विवाह भएको लामो समयसम्म बच्चा नजन्मिएकोमा सबै दोष महिलालाई नै लगाइएको, चारित्रिक आरोप लगाइएको, गालीगलौज तथा अपशब्द प्रयोग गरिएको, शारीरिक तथा मानसिक यातना दिइएकोलगायतका छन्।
यसबाहेक महिला तथा बालिकाहरुलाई खान लाउन नदिई घरनिकाला गरी बेवास्ता गरिएको, बच्चाको जन्मदर्ता, विवाह दर्ता, नागरिकता नबनाइदिएको र स्वास्थ्य सुविधा जस्ता आवश्यक स्रोत सुविधाबाट वञ्चित गरी हिंसा गरिएको पाइएको छ। उक्त तथ्याङ्कअनुसार घरेलु हिंसाका घटनामा ७६ प्रतिशत (६८ जना) श्रीमान र २४ प्रतिशत (२२ जना) परिवारका सदस्य संलग्न रहेको देखिन्छ।
घरेलु हिंसाका घटनाबाहेक यस अवधिमा ४५ बलात्कार, १५ सामाजिक हिंसा, १४ हत्या, पाँच हत्या प्रयास, छ यौनदुव्र्यवहार, चार आत्महत्या, दुई मानव बेचबिखन, दुई बलात्कारको प्रयास र १७ अन्य प्रकृतिका हिंसाका घटना सङ्कलन भएका छन्। अन्य प्रकिृतिका घटनामध्ये पारिवारिक स्रोतका अनुसार लैङ्गिक हिंसाका कारणले दुई जनाले आत्महत्या प्रयास गरेका र १५ जनालाई अलपत्र पारिएका घटना रहेको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए। रासस