सामाजिक संस्था युथ क्यानका सदस्यहरु शुक्रबार पशुपती क्षेत्र वरीपरी देखिए। उनीहरु त्यहाँ भोजन वितरणका लागि गएका थिए। कोरोना महामारीको बेलामा युथ क्यानले सञ्चालन गरेको अभियानअर्न्तगत उनीहरुले समस्यामा रहेका विभिन्न व्यक्ति र सडकमा रहेका जनावरहरुलाई भोजन गराएका हुन्।
‘महामारीको प्रभाव आम जनजिवनमा त परेको नै छ,’ युथ क्यानका अध्यक्ष सुदिपचन्द्र बख्रेलले भने, ‘यसको असर यहाँका जनावरहरुमा पनि उत्तिकै परेको छ।’ युथ क्यानले स्टुडेन्टस प्राइड एजुकेशनल कन्सलटेन्सी (स्पेक), इकमर्श रिटेल सेवा र नेपाली पब्लिक डटकमसँगको सहकार्यमा संकलित सहयोगबाट राहतका कार्यक्रमहरु सञ्चालन भइरहेको उनले बताए।
युथ क्यानको अगुवाईमा शुरु भएको यो अभियानमा देश–बिदेशमा रहेका विभिन्न व्यक्तिहरुले व्यक्तिगत रुपमा सहयोग गरीरहेको युथ क्यानका कार्यक्रम निर्देशक बिनोद केसीले जानकारी दिए। ‘हामीले यहाँका केहि कम्पनीहरुको सहयोगमा यो अभियान शुरु गरेका हौ,’ उनले भने, ‘अहिले हामीलाई विभिन्न व्यक्तिहरुले पनि सहयोग गरिहनुभएको छ।’ यो अभियान चरणबद्ध रुपमा अघि बढीरहेको उनले बताए।
युथ क्यानले यसअघि काठमाडौं मध्यबानेश्वरस्थित एक बालआश्रममा खाद्यान्नलगायका सामग्री सहयोग गरेको थियो। ‘स–सानो सहयोगहरु जुटाएर यो अभियान अघि बढिरहेको छ,’अभियानको साझेदार स्पेकका प्रमुख कार्यकारी अधिकृत सुरज अधिकारीले भने, ‘महामारीका कारण कोहि पनि भोकै बस्नु नपरोस भन्ने हाम्रो चाहना हो।’
नेपाली पब्लिकका लागि रिषभ ओझाले खिचेका केहि तस्विरहरु