कहिलेकाँहि ताज्जुब लाग्छ, यी देशका नेताहरु देख्दा। त्यो भन्दा बढी ताज्जुब लाग्छ जनताहरु देख्दा। गणेशमान सिंहले भनेका थिए, ‘नेपाली जनता भेडा जस्ता हुन।’ उनी गलत थिए, नेपाली जनता भेडा नै हुन्, भेडा जस्ता हैन्। रिस उठ्यो होला है? तर, मलाई फरक पर्दैन्, कोहि रिसाएर। तिमीहरु रिसाएर नेतालाई पनि त फरक पर्या छैन् नि। कुनै नेतालाई पर्या भए भन, सार्वजनिक रुपमा कान समातेर माफि मागौँला।
गणेशमानले जनतालाई किन भेडा भने त्यता नजाउँ, म चाँहि किन भन्दैछु थाहा छ? किनभने बारम्बार अक्षता छर्केर, पानी पर्सेर, मार हान्दा पनि तीमिहरुको चेत कहिल्यै खुलेन्। खुल्दैन पनि। किनभने तिमीहरु भेडा नै हौ र भेडा बन्नुमा तिमीहरुलाई एकरत्ति पनि सरम छैन्। सरम हुँदो हो त आज यसरी हात बाँधेर चुपचाप बस्ने थिएनौ।
ए हैन–हैन तिमीहरु कहाँ चुप लाग्या छौ र... फेसबुक–ट्वीटरमा स्ट्याटस लेखिरहेकै छौ नि। चिया पसल र क्लव हाउसहरुमा चर्को–चर्को आवाजमा गाली पनि गर्दैछौ अरे।
देश बिगार्ने नेता, अस्थिरता ल्याउने नेता, भ्रष्टाचार गर्ने–गराउने नेता, काम नगर्ने नेता, गाली चाँहि जनतालाई? यहि प्रश्न आयो होला हैन मनमा? हो एकदम सहि प्रश्न, तर, कसले दिन्छ जवाफ? अनि किन दिने?
तिमीहरुले तातो घाममा लाइन बसेर भोट हालेर जिताएर पठाएको होईन यिनीहरुलाई? तिमीले भोट हाल्यौँ, तिनीहरुले जिते। सकियो अब। अर्को चुनावसम्म चुप्प लागेर बस। केहि हुनेवाला छैन् कराएर। काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ।
तिम्रो आवाजले शितल निवास, बालुवाटार र सिहंदरबारको पर्खाल छेड्न सक्दैन। तिम्रो आवाज बालकोट, बुढानिलकण्ठ, कोटेश्वर, खुमलटारलगायतका दरवारका द्वारबाट भित्र छिर्न पनि सक्दैन्। तिमीहरु चाहिँ फेसबुक, ट्वीटर, टिकटक र क्लव हाउसहरुबाट बाहिर निस्कन सक्दैनौ। निस्कीहाल्यौ भने पनि त्यहि चिया पसलसम्म नत्र बढीमा साँईलीको भट्टिसम्म। केहि ‘बिवेकशिल’हरु प्लेक कार्ड बोक्न माइतिघर मण्डला र बसन्तपुरहरुसम्म पुगे। तर, अहिले कोरोना भाइरसले त्यहा पनि जान रोकीदियो। हाईसञ्चो भयो होला हैन्?
दुई पटक संसद विगठन गर्यो भनेर केपी ओलीलाई खुब तथानाम भनियो है? विपक्षी दलका नेताहरुलाई पनि सत्तो–सराप गरियो।
ए जनता महोदय, ‘ऐना हेरेर आफूँलाई चाँहि कहिल्यै गाली गर्यौ कि गरेनौ? अह! गरेनौ। किन गरेनौ, त्यो चाँहि आफैँलाई सोध।
आँकडा पल्टाएर हेर, चुनावको बेलामा मासुको खपत २० प्रतिसतको हाराहारीमा बढ्छ। त्यहि बेलामा रक्सी, चुरोटलगायतको विक्रि पनि ह्वात्तै बढ्छ। यो मैले भनेको हैन् तथ्याङ्कले भनेको हो। र यो तथ्याङ्कले के भन्न खोजेको हो भन्ने कुरा सायद मैले बुझाई राख्नु पर्दैन।
चुनावकै बेला हो नेपालमा खुब व्यापार चल्ने। रक्सी–मासु पसल, चिया अड्डा, वस्त्रालय, पेट्रोल पम्प, ट्राभल्स एण्ड टुर्स, छापाखाना सबको व्यापार खुब हुन्छ। जनताको खातिरदारी पनि जमेर गरिन्छ। केटाहरुलाई पार्टी, टोल–टोलमा भोज भतेर। चारैतिर दशैँ, दिवाली, ईद सबै एकैपटक आउँछ।
अध्ययनले भन्छ, चुनावमा हुने खर्च यसरी बढीरहेको छ की २०४८ सालमा एउटा सिंगो पार्टीले गर्ने जति चुनाव खर्च आजकल एउटा उम्मेद्वारले आफ्नो क्षेत्रमा मात्र गरिदिन्छ। नियमले भन्छ प्रतिनिधी सभा सांसद पदको एउटा उम्मेद्वारले २५ लाखसम्म मात्र चुनाव खर्च गर्न पाँउछ। तर, ३–४ करोडसम्म खर्च गरेर चुनाव लडेको देखिएकै छ। अपवादका केहि व्यक्तिहरुको कुरा छोडौ, सांसद बन्न कम्तीमा २ करोड खर्च हुन्छ।
अनि किन हुँदैन त संसद विगठन? किन हुल बाँधेर कहिले शितल निवास अनि कहिले सर्वोच्च नजाउन त विपक्षी दलका नेताहरु? बाढी–पहिरो, कोरोनाका कुरा पछी गर्दै गरौँला। पहिला कुर्सि जोगाउने र हत्याउने खेल त सक्न देउ। नत्र, कसरी उठ्छ चुनावमा गरेको त्यत्रो खर्च? अनि कसरी जित्ने अब आउने चुनाव?
धत! यो कुरा म किन भन्दैछु? आखिर तिमीहरुले बुझ्ने त हैनौ। यदि बुझ्ने थियौ भने बारम्बार यसरी मुर्ख बन्ने थिएनौ। नाच्न पाउने थिएनन् यीनीहरु तिम्रो लाशमाथि नाङ्गो नाच। दौडिनु पर्ने थिएन काँधमा अक्सिजन सिलिण्डर लिएर। भौतारिनु पर्थेन अस्पतालमा बेड खोज्दै। डुब्ने थिएन तिम्रो घर बाढीले अनि पुरिने थिएनौ तिमी पहिरोमा। खाडिबाट काठको बाकसमा फर्कनुपर्ने थिएन तिमी।
हस त, धन्यवाद !!