जीवनरथ जेनतेन अगाडि बढिरहेको थियो। उसका बाबु परिवारको रथ एक्लै हाक्दाहाक्दा थाकिसकेका थिए। यता स्नातक गरिसक्दा पनि उसले काम पाउन सकिरहेको थिएन। उसको ठूलो इच्छा थियो, आफूले पढेकै स्कुलमा फिजिक्स विषय पढाउने। त्यसका लागि उसले थुप्रैपल्ट आवेदन–निवेदन पनि दियो। तर, उसका सबै प्रयास निरर्थन भए। उसले आफू पढेकै स्कुलमा शिक्षकको जागिर पाउन सकेन।
यूरोपको सानोभन्दा सानो स्कुलमा काम पाए पनि ठूलै राहत हुन्थ्यो, उसलाई। सबै साथीहरु ऋा–आफ्नो ठाउँमा जमिसकेका थिए, उनीहरुको जीवनले लय पकडिसकेको थियो। ऊ मात्र बेरोजगार थियो, काम नपाएर हताशिएको थियो। कामकै खोजीमा कहिले जर्मनीमा रहेका आफ्ना बाबुकहाँ पुग्थ्यो त कहिले ज्युरिख धाउँथ्यो।
एक दिन उसले एउटा जागिर पायो, आफूले चिनेका एस्ट्रोनोमीका प्रोफेसरकै सहायकका रुपमा। तर, यो जागिर अस्थायी भएकाले यसले उसलाई लामो समयसम्म राहत दिन सकेन। वास्तवमा भन्ने हो भने यो जागिर जागिर भन्न लायकको पनि थिएन। तर, केही नहुनुभन्दा यही पनि ठूलो थियो उसलाई।
अब उसले स्विटजरल्याण्डको नागरिकताको लागि प्रयास गर्न थाल्यो, अनवरत रुपमा। जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै उसले स्विटजरल्याण्डको नागरिकता पायो। नागरिकता लिएर आर्मीमा भर्ती हुने सोचेको थियो, तर उसलाई उसकै शारीरिक बनोटले साथ दिएन। ऊ यसमा पनि सफल हुन सकेन।
उसलाई निराशाले गाँज्न थाल्यो। जागिरका लागि उसले जर्मनीका एक क्यामेस्ट्री प्रोफेसरलाई पत्र लेख्यो, आफ्ना बाबुलाई पनि लेख्न लगायो। तर, दुवैको पत्रको जबाफ आएन। उसले कयौँ प्रोफेसरसँग भेट्यो तर, कसैले काम दिन सकेनन्।
यसैक्रममा उसले एक स्कुलमा दुई महिनाको लागि गणित शिक्षकको जागिर पायो। दुई महिनापछि फेरि बेरोजगारी सुरु भयो। उता उसको दिमाग गुच्छा–गुच्छा प्रकाश तरंग, अणुमा बस्थ्यो र यता उसको जीवनमा गुच्छा–गुच्छा समस्याहरु चलिरहन्थे।
निजी जिन्दगीमा पनि उथलपुथल मच्चिरहेको थियो। विवाह बिनै जन्मिएको एक सन्तानले पनि उसको जीवनलाई जटिल बनाएको थियो। भावी श्रीमतीलाई उसले जसैगरि मनाउनु थियो, छिट्टै जागिर मिल्नेवाला छ र छिट्टै विवाह हुनेछ भनेर।
उसको जीवनका उल्झनले उसका बाबुआमालाई पनि चिन्तित बनाउन थाल्यो। बाबुआमा उसले छिटोभन्दा छिटो जागिर पाए हुन्थ्यो भनेर कामना गरिरहन्थे। बाबु चाहन्थे, छोरो आफ्नो पारिवारिक उद्यमको सहारा बनिदेओस्। तर, छोरालाई बाबुको बिँडो थाम्नु थिएन। उसको रुचि त खोज तथा अनुसन्धानमा थियो।
यस्तैमा त्यही युवा अल्बर्ट आइन्स्टाइनको जीवनमा एक यस्तो दिन आउँछ वा भनौँ अवसर आउँछ जसले उसको जीवनलाई नै परिवर्तन गरिदिन्छ, उसको जीवनलाई अर्कै मोडमा डोहोर्याइदिन्छु, जुन सुखद हुन्छ। अल्बर्टले आफ्नो एक साथीका बाबुको सिफारिसमा ‘स्विस प्याटेन्ट’ नामको कम्पनीमा तेस्रो श्रेणीको क्लर्कको जागिर पाए। साथै, राम्रोसँग काम गरेको खण्डमा जागिर स्थायी हुने आश्वासन पनि।
२३ जुन, सन् १९०२। उनको जागिरको पहिलो दिन। उनी एकदमै उत्साहसाथ अफिस जान्छन्। जागिरसँगै तलब पनि राम्रो थियो। लामो समयदेखि अभावै अभावले ग्रसित उनको जीवनमा यो जागिरले ठूलो अर्थ राख्यो। यो जागिरले उनी र उनको परिवारको हातमुख जोड्नमात्र सहयोग गरेन, उनको सपनालाई आकार दिन पनि सहयोग गर्यो। त्यसपछि अल्बर्ट आफ्नो सपना अर्थात् अनुसन्धानमा लागे। र, त्यही जागिरले उनलाई सफलता मिल्न थाल्यो।
अन्मितपल्ट बाबुसँग भेट हुँदा उनीसँग जागिर थियो। तैपनि बाबु खुसी थिएनन्। बाबुको उनलाई इन्जिनियर वा शिक्षक बनाउने सपना थियो, तर अल्बर्ट सामान्य जागिर गरिरहेका थिए। त्यस दिन बाबुले अल्बर्टलाई भारी मनले भनेका थिए– तिमीलाई जोसँग विवाह गर्न मन छ गर। जीवनमा धेरै मेहनत गर।
अल्बर्टलाई जीवनभर एउटा पश्चतापले पोलिरह्यो– बाबुले मलाई एक ‘लुजर’ ठानेर संसारबाट बिदा भए। यद्धपि अल्बर्टलाई विज्ञान तथा प्रविधिको नवीन युगमा एक नवीनतम् वैज्ञानिक बनाएर संसारभर चर्चित त्यही मामुलीवाला जागिरले बनायो। विज्ञान र प्रविधिको इतिहासमा उनको नाम स्वर्णिम अक्षरले लेख्ने अवसरको विजारोपण त्यही अफिसमा भएको थियो।
अल्बर्टको दिमाग कति तेज थियो भने उनी कार्यालयको ८ घण्टाको काम दुईतीन घण्टामै सकेर बाँकी समय आफ्नो खोज तथा अनुसन्धानका लागि निकाल्थे। कम्पनीले उनलाई दुई वर्ष काम गरिसक्दा पनि स्थायी बनाएन त के भयो ? उनी एक विलक्षण प्रतिभाका धनी थिए। उनी जुन अनुसन्धान गरिरहेका थिए, त्यो स्थायीमात्र भएन, अमर नै भयो।
अन्ततः उनको जीवनमा त्यो वर्ष पनि आयो, जुन वर्षले उनको जीवनमा चमत्कार गरिदियो। सन् १९०५ को मार्चमा उनको एक रिसर्च पेपर प्रकाशित भयो, जसमा उनले प्रकाश के हो भनेर बताए। त्यसै वर्षको मे महिनामा उनको दोस्रो रिसर्च पेपर प्रकाशित भयो जसमा उनले परमाणुको प्रमाण दिए।
नयाँ नयाँ रिसर्च पेपर प्रकाशित गरेर संसारलाई चकित तुल्याउने उनको यात्रा यत्तिमै रोकिएन। त्यसै सालको जुन महिनामा उनको एउटा अर्को रिसर्च पेपर प्रकाशित भयो, जसमा उनले सापेक्षताको विशेष सिद्धान्तमा प्रकाश पारे। सेप्टेम्बरमा उनको चौथो पेपर प्रकाशित भयो, जसमा द्रव्यमान र ऊर्जाबीच तुलना गरे र त्यसको सुत्र बताए। अल्बर्टका पेपरले संसारभर तहल्का मच्चिन थाल्यो। मानिसहरुले उनलाई न्युटनसँग तुलना गरेर उनकै श्रेणीमा राख्न थाले।
अल्बर्टका रिसर्च पेपर र उनको नाम संसारभर वायु वेगमा चर्चित भइरहँदा पनि उनी अफिसमा तेस्रो श्रेणीकै क्लर्क थिए। तर, उनले के चाहिँ प्रमाणित गरिदिए भने, घरको हरेक मुर्गा दाल बराबर हुँदैन। प्याटेन्ट विभागमा उनले व्यतित गरेको सात वर्षको महत्व आज पूरा विज्ञान जगतलाई थाहा छ।
(भारतीय अनलाइन मिडिया ‘लाइभ हिन्दुस्तान डटकम’ मा प्रकाशित यो कथालाई नेपाली पब्लिककर्मी निराकार कमलले नेपालीमा उल्था गरेका हुन्।)