लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा गुड्दै गरेको विमानको ककपिटमा छिर्ने प्रयासपछि एकजना पुरुषले विमानबाटै हाम फालेका छन्। ती पुरुषले विमानको ढोका खोल्दै आपतकालीन अवस्थामा प्रयोग गरिने चिप्लेटीको प्रयोग गरेर भाग्न खोजेको सङ्घीय उड्डयन प्रशासन (एफएए)ले जनाएको छ।
उनलाई विमानस्थलकै ट्याक्सी वेमा पक्राउ गरेर अस्पताल पुर्याइएको थियो। यो वर्ष मात्र झण्डै ३ हजारवटा त्यस्ता घटनाहरू भएको बताइएको छ। स्थानीय समय अनुसार साँझको सात बजेर १० मिनेट जाँदा साल्ट लेक सिटी जान लागेको युनाइटेड एक्सप्रेसको फ्लाइटमा उक्त घटना भएको थियो।
ट्याक्सी वेबाट धावनमार्गतर्फ जाने क्रममा चालक दलले ती यात्रु आफ्नो सिटबाट उठेको देखेका थिए। उनीहरूका अनुसार उनी आपत्कालीन ढोकातर्फ लाग्नुभन्दा पहिले ककपिटको ढोकातर्फ अघि बढेको बताएको एनबीसी न्यूजले लेखेको छ। त्यसपछि उक्त विमान आफ्नो गेटमा फर्किएको थियो।
अधिकारीहरूले ती यात्रुको नियत र घटनाबारे बुझ्न अनुसन्धान सुरु गरेका छन्। सन् १९९५ यता यस्ता विवरण राख्न थालिएयता गत महिना सबैभन्दा धेरै कानुन तोड्ने सम्भावित घटनाहरू देखिएको एफएएले जनाएको छ। धेरै घटना चाहिँ यात्रुहरूले मास्क लगाउन अस्वीकार गर्ने भन्ने थियो।