अन्ततः लेखक कुमार नगरकोटीको बहुचर्चित पुस्तक ‘कल्प ग्रन्थ’को वितरण सुरु भएको छ । आइतबार लेखक स्यमं नगरकोटीले लेखक तथा पत्रकार नारायण वाग्लेलाई ‘पुर्व–भुक्तानी–प्रति’ हस्तान्तरण गर्दै यसको वितरण सुरु गरिएको हो ।
प्रिमियम संस्करणमा मात्र मुद्रण भएको, २०२१ रुपैयाँ मुल्य तोकिएको र विभिन्न शैलीका ७० वटा प्रयोगात्मक कथा समेटिएको कल्प–ग्रन्थ आफ्नो हातमा परेपछि लेखक वाग्लेले भने ‘मुद्रण र यसको प्रकाशन शैलीले अन्य लेखकलाई पनि लेखन र प्रयोगमा उत्साह थप्नेछ, यो एउटा मानक किताब बन्नेछ ।’
प्रकाशन गृह बुकहिलले सम्पूर्ण पाठकप्रति आभारसमेत व्यक्त गर्दै देश तथा विदेशमा रहेका सबै पाठकमा वितरण गरिसक्न एक साता लाग्ने जनाएको छ ।
पैसा तिरेको सात महिनापछि पाठकको हातमा पुग्दै पुस्तक
सर्वविदितै छ, प्रिमियम संस्करणमात्र मुद्रण भएको यो पुस्तकको पैसा पाठकहरुबाट अग्रिम रुपमा उठाइएको हो । बुकहिलले गत मंसिर १ गतेदेखि नै पुस्तकको बुकिङ सुरु गरेको थियो, चैत १४ गते सार्वजनिक गर्ने वाचासहित । तर, विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ र त्यसको रोकथामका लागि लगाइएको लकडाउनका कारण पुस्तक समयमै मुद्रित भएर पाठकको हातमा पुग्न सकेन ।
पहिलो लहरको कोरोना कहर कम भएपछि बुकहिलले गत वैशाख २५ गतेलाई विमोचन मिति तोकेर यसको वितरण सुरु गर्ने घोषणा गर्यो । तर, दोस्रो लहरको कोभिड नियन्त्रणका लागि सरकारले गत १६ गतेदेखि निषेधाज्ञा लगाएपछि यसको वितरण फेरि रोकिएको थियो ।
अब भने देश तथा विदेशमा रहेका सबै पाठकका हातमा एक साताभित्र पुस्तक पुग्ने वाचा गरिएको छ । कल्प–ग्रन्थ’सँगै पाठकले एउटा झोला र बुकमार्क पनि पाउनेछन् ।’
पुस्तकको प्रोमोसनल भिडियो भने सार्वजनिक
गत वैशाखमा बुकहिलले पुस्तकको विमोचन मितिसँगै प्रोमोसनल भिडियो पनि सार्वजनिक गरेको थियो । ‘खर्पनमा बोकी हिँड्छु अचेल’ बोलको यो प्रोमोसनल गीतमा नगरकोटीकै शब्द रहेको छ भने स्वर सुगम पोखरेलको । अभिनय पनि नगरकोटीकै रहेको यो गीतको भिडियोलाई बुकहिलका संयोजक भुपेन्द्र खड्काको रहेको छ । भिडियोमा नगरकोटी फकिरको रुपमा देखिएका छन् ।
प्रकाशनअघि नै पुस्तकको चर्चा र विवाद
लेखक नगरकोटीको छुट्टै लेखन शैली छ । ‘फिक्सन डिजाइनर’का नामले पनि चिनिने उनी प्रयोगवादी लेखक हुन् । नेपाली लेखनवृत्तमा उनी एक यस्ता लेखक हुन्, जसका आलोचक र प्रशंसक बराबर छन् । कसैलाई उनको लेखन विछट्टै मन पर्छ भने कसैले एकरत्ति पनि मन पराउँदैनन् । कतिले त उनलाई भाषाको हत्या गर्ने लेखकका रुपमा चित्रण गर्छन् ।
उनी सधैँ आफ्नो लखेन शैलीका कारण आलोचना र चर्चाको शिखरमा हुन्छन् । यसपालि भने उनी पुस्तक प्रकाशन हुनुअघि नै चर्चामा आए । यसपालिको चर्चामा उनको प्रशंसाभन्दा आलोचना ज्यादा भयो ।
जसै कल्प–ग्रन्थ प्रिमियम संस्करणमा मात्र आउने कुरा प्रकाशकले सार्वजनिक गर्यो, उनको आलोचना हुन सुरु भइहाल्यो । केही सातापछि प्रकाशकले पुस्तकको मूल्य तोक्यो, २०२१ रुपैयाँ । त्यसपछि त उनीमाथि आलोचनाको सीमा नै रहेन । अधिकांश पाठकको भनाइ थियो– कुमार नगरकोटी बजारमुखी लेखक भयो । यो आरोप नगरकोटीमा मात्र सीमित भएन, यो विवादमा पाठकले बुकहिलका संयोजक भूपेन्द्र खड्कालाई समेत लगाए । उनीहरुले फेरि भने– भूपेन्द्रले कुमार नगरकोटीलाई बजारकेन्द्रित बनायो ।
संयोजक खड्काले आफू र लेखकमाथि लागेका आरोपको खण्डन गरिसकेका छन् । खड्काले पाठकबाट पुस्तकलाई लिएर आलोचना–समालोचना हुनु एकदमै राम्रो भएको बताएका थिए । तर, मूल्य महँगो भएको कुरामा भने उनी सहमत छैनन् ।
पुस्तक महँगो हुनुको कारणबारे प्रस्ट्याउँदै उनले भनेका थिए– यो पुस्तक साइजले ठूलो त छँदै छ, प्रचुर कलात्मक पनि छ । कल्प–ग्रन्थ’सँगै पाठकले एउटा झोला र बुकमार्क पनि पाउनेछन् ।