कोरोना कहर सुरु भएपछि काठमाडौंँ उपत्यकामा मात्रै लाखौँले रोजगारी गुमाए । जागिर गुमाउनेमध्ये अधिकांश श्रमिक थिए, दिनभर कडा परिश्रम गरेर बिहान–बेलुकाको छाक टार्नेहरु । उनीहरुले जागिरमात्र गुमाएनन्, बिहान–बेलुकाको छाक पनि गुमाए । उनीहरुलाई कोरोना भाइरसले मात्र सताएन, भोक भाइरसले पनि सतायो । बिस्तारै उनीहरुलाई कोरोनाले भन्दा भोकले डराउन थाल्यो ।
अधिकांश श्रमिकहरु उपत्यका बाहिरका थिए । सवारी साधन पुर्ण ठप्प भएकाले उनीहरु घर जान सकेनन्, एकाध बाहेक । जान सक्ने एकाधहरु पनि टन्टलापुर गर्मीलाई हप्तौँको साथी बनाएर खुट्टामा फोका उठाउँदै गए । खुट्टैले नापेर गृह जिल्लाको यात्रामा निस्किएकाहरुलाई लागेको हुँदो हो– यो बिरानो र निष्ठुरी सहर हो । यहाँ रोगले त मरिन्छ नै भोकले पनि मरिन्छ । गाउँमा कम्तिमा भोकैले त मरिन्न ।
अधिकांशले एकाधको जस्तो आँट गर्न सकेनन् । उनीहरु उपत्यकामै बन्दी भए । एउटा यस्तो बन्दीगृहमा कैद भए, जहाँ फलामको साटो भोक, रोग र शोकको बार थियो । उनीहरुलाई हरदिन रोग र भोकका किराले काट्न थाले । सबैतिर निराशाको कालो बादल मडारिन थाल्यो ।
एक दिन उनीहरुलाई भोक, रोग र शोकले बारिएको त्यो बन्दगृबाट निकाल्न एउटा समूह देखापर्यो, निराशाको निष्पट्ट अँध्यारोलाई चिर्दै जीवनप्रतिको आशाको दियो बाल्दै । र, त्यो उज्यालो दियो थियो, हाम्रो टिम नेपाल । हाम्रो टिम नेपालका स्वयंसेवकहरुले उनीहरुलाई बन्दीगृहबाट निकालेर खाना खुवाउन थाले । उनीहरुले भोका श्रमिकलाई मात्र होइन, खुला आकाशलाई छानो बनाएर सकडमा जीवन बिताउने लावारिसेलाई पनि खाना खुवाउन थाले ।
हाम्रो टिम नेपाल भोकाहरुलाई त्योबेला सहयोग गर्न जुर्मुराएको थियो, जुनबेला भोकाहरुका लागि कोरोनामात्र शत्रु थिएन, उनीहरुको सरकार नै उनीहरुको शत्रु थियो । गरिब जनताहरु भोक, रोग र शोकले मरिरहेका बेला सरकार आफ्नै ध्याउन्नमा थियो, सत्ता जोगाउन नाँगो नाँच नाँचिरहेको थियो । यतिमात्र होइन सरकारले भोकाहरुलाई खाना खुवाउने सहयोगी हातहरुमा पनि लगाम लगाइरहेको थियो । सहरको सुन्दरता बिग्रिन्छ भन्दै मनकारीहरुलाई खुला ठाउँमा खाना खुवाउन बन्देज गर्दै थियो ।
तर, उनीहरु रोकिएनन्, हाम्रो टिम रोकिएन । हाम्रो टिमले सरकारको आदेशलाई लत्याएर भोकाहरुलाई खाना खुवाइरह्यो । भोकाहरुमा जीवनप्रतिको आशा जोगाइरह्यो । उसलाई थाहा थियो– सहरको सुन्दरताभन्दा मानिसको जीवन ठूलो हो । त्यसैले हाम्रो टिमले आफ्नो परोपकारी कार्यलाई जारी राखिरह्यो ।
हाम्रो टिम नेपालका सदस्यहरुको यो मनकारी कार्य यतिमै सीमित भएन । उनीहरुले कोरोनाका पीडितसँगै प्राकृतिक विपत्तिका पीडतलाई पनि सहयोग गर्न थाले । सिन्धुपाल्चोकमा विराट बाढी गएको दोस्रो दिन नै उनीहरु त्यहाँ पुगिहाले, राहत लिएर । अनि सुरु गरे बाढीले जन, धनसँगै जीवनकै आशा बगाएर लगेका बाढी–पहिरो पीडितलाई खाना खुवाउन । पछिल्लो समय उनीहरु नागरिकका हरेक दुःखमा मलम लगाइरहेका छन्, जीवनको आशा दिइरहेछन् । सबैभन्दा धेरै सरकारले गर्नुपर्ने काम उनीहरुले गरिरहेका छन् ।
तर, विडम्बना, सरकारले गर्नुपर्ने काम गरिरहेका तिनै मनहरु आज सरकारकै कारण दुखेका छन्, विक्षिप्त भएका छन् । सरकारको आदेशमा प्रहरीले उनीहरुलाई तँछाडमछाड गर्दै चौकीमा पुर्याएको छ ।
प्रहरीले विमल पन्तसहित १८ जना अभियन्ताहरुलाई सोमबार अनामनगरबाट पक्राउ गरी सिंहदरबार लग्दै गर्दाको एउटा भिडियो सामाजिक सञ्जालम यतिबेला भाइरल छ । भिडियोमा प्रहरीले जवरजस्ती धरपकड गरेर लग्दा हाम्रो टिम नेपालकी सदस्य तथा सामाजिक अभियन्ता सपना रोका मगर बेहोस भएको देखिन्छ । भिडियोमा उनका साथीहरु उनलाई होस्मा ल्याउन खोजिरहेका छन्, आँखाभरी टिल्पिल आँसु बनाएर ।
प्रहरी अनामनगरमा हाम्रो टिम नेपालले प्रयोग गरिरहेको टहरा खाली गराउन त्यहाँ पुग्यो । आफूहरुले प्रयोग गर्दै आएको टहरा हटाउन खोजेपटि उनीहरु त्यसको प्रतिरोधमा उत्रिए । प्रतिरोधमा उत्रिएका उनीहरुमाथि नेपाल प्रहरीले धरपकडमात्र गरेन, सपना रोक्का मगरलाई बेहोस नै बनाउने गरी बल प्रयोग गर्यो ।
हो, त्यो जग्गा महानगरपालिकाको हो । उनीहरु त्यहाँ गैरकानुनी रुपमा बसिरहेका थिए होलान् । तर, प्रहरीले जुन तरिकाले उनीहरुमाथि बल प्रयोग गर्यो, त्यो अत्यन्तै निन्दनीयमात्र छैन, अमानवीय पनि छ ।
यसमा नेपाल प्रहरीको दोष छैन । प्रहरीले त माथिको आदेशको पालना मात्र गरेको हो । यसमा दोषी त राज्य संयन्त्र हो, जो बालुवाटारको सरकारी जग्गा किनबेच गर्नेलाई दोषी देख्दैन, तर भोका र दिनदुखीको जीवन बचाउनकै लागि खुल्ला ठाउँ प्रयोग गर्नेलाई दोषी देख्छ ।