अहिले रुपा प्रकरण बहसको उत्कर्षमा छ। जातीय विभेदको कसुरमा पक्राउ परेकी आरोपित घरधनी सरस्वती प्रधानलाई गत बुधबार शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले छुटाएपछि यो प्रकरण दिनप्रति दिन पेचिलो बन्दै गइरहेको छ।
मन्त्री श्रेष्ठले आफ्नो पद र अख्तियारको दुरुपयोग गरी आरोपितलाई नै संरक्षण दिएको भन्दै अहिले उनको व्यापक विरोध भइरहेको छ। विरोधमात्र होइन, मिडियादेखि राजनीतिक पार्टी, सर्वसाधारणदेखि बुद्धिजीवी सबैले मन्त्री श्रेष्ठको राजिनामा नै मागिरहेका छन्।
पछिल्ला केही दिनयता कलाकारहरु पनि यसमा आफ्नो विचार राख्न सरिक भइरहेका छन्। उनीहरु प्रत्यक्ष–परोक्ष रुपमा जातीय विभेद गलत हो भनिरहेका छन्।
त्यसो त अधिकांश कलाकारहरु अझै पनि चुप नै छन्। अरु त अरु समाजमा बहसको सतहमा आउने हरेक मुद्धामा बोल्न कहिल्यै पछाडि नपर्ने मह–जोडी पनि चुप छ। निरंकुश पञ्चायत र राजतन्त्रका विरुद्धमा ज्यानको आहुति नै दिन तयार भएका यी कलाकारहरु जातीय विभेद जस्तो विषयमा चाहिँ किन मौन छन्? उनीहरु नै जानुन्।
योभन्दा पनि आश्चर्यकाे कुरा त के छ भने यो विषयमा एकाध बाहेक अधिकांश दलित समूदायका सेलिब्रिटीहरु नै चुप छन्। यश कुमार, शिव परियार, प्रकाश सपुत लगायतका केही औँलामा गन्न सकिने दलित समुदायका सेलिब्रिटी बाहेक अधिकांश यो मुद्धामा यसरी मौनता साँधिरहेका छन्, मानौँ, तिनीले लेख्नै जानेका छैनन्, बोल्नै जानेका छैनन्। यसको सबैभन्दा ज्वलन्त उदाहरण हुन्, कलाकार तथा होस्ट रिमा विश्वकर्मा।
रिमा विश्वकर्मा। यो नामलाई कुनै परिचयको आवश्यकता पर्दैन। उनको आवाज नेपालका चर्चित शो ‘नेपाल आइडल’ देखि ‘कमेडी च्याम्पियन’ सम्म गुञ्जीसकेको छ। भने उनको अभिनयको जादू दर्शकको राम्रो माया र साथ पाएका ‘ऋतु’ देखि ‘बाटोमुनीको फूल–२’ जस्ता चलचित्रमा देखिइसकेको छ।
जातीय विभेदलाई नै विषय बनाएर निर्माण गरिएको ‘बाटोमुनीको फूल–२’ मा उनले निभाएको पात्र जातकै कारण प्रताडित हुन्छ। सिनेमामा सुरुमा उनी मन्दिर छेउमा बसेर भक्तजनलाई पूजाका लागि आवश्यक पर्ने सामाग्री बेच्ने काम गर्छिन्। एक दिन केही भक्तजनहरुले उनी दलित भएको थाहा पाउँछन्। दलितले छोएको फूल भगवानलाई चढाउन नमिल्ने भन्दै उनलाई त्यहाँ पसल गर्न दिइँदैन र त्यहाँबाट गलहत्याएर निकालिन्छ। यो घटनाले उनलाई भित्रैदेखि विक्षिप्त बनाउँछ। यो घटनाले उनलाई कति दुःखी बनाउँछ भने उनी त्यसपछि याैनकर्मी बन्छिन्।
एक दिन उनीसँग एक ग्राहकले किन यस्तो गर्छौ भनेर प्रश्न गर्छ। उनले त्यसको जवाफमा भन्छिन्, ‘मैले फूल बेच्दा यो समाजले मलाई स्वीकार्दैन, शरीर बेच्दामात्र स्वीकार्छ।’ उनले सिनेमामा यस्तो भनिरहँदा किञ्चित पनि लाग्दैन्थ्यो– उनी अभिनय गरिरहेकी छन्। ग्राहकलाई उत्तर दिँदा उनको अनुहारमा जस्तो भाव देखिन्थ्यो, त्यसलाई हेर्दा लाग्थ्यो, यो अभिनय मात्र होइन, अभिनयभन्दा धेरै हो। सायद वास्तविकता नै। आफ्नो नभए पनि आफ्नै समुदायकी कसैको।
तर, विडम्बना, आज उनै मौन छिन्, उनलाई उनको फेसबुकमा उनका फ्यानहरुले बोल्न झक्झक्याउँदा पनि । एक साताअघि उनले आफ्नो फेसबुक फ्यान पेजमा आफू होस्ट बन्न गइरहेको कार्यक्रमबारे जनकारी दिएकी थिइन्। उक्त पोष्टको कमेन्टमा उनलाई धेरैले अहिलेको विषयमा बोल्न घच्घच्याएका छन्, नबोलेकोमा आक्रोश व्यक्त गरेका छन्।
सुशील नेपालीले कमेन्टमा लेखेका छन्– कहिलेकाहीँ जातीय विभेदको बारेमा पनि बोल्नुस् न महोदय! नेपालीको कमेन्टलाई धेरैले समर्थन गर्दै लाइक गरेका छन्। नेपालीको विचारलाई समर्थन गर्दै नास्तिक भाइ नामका फेसबुक प्रयोगकर्ताले रिमालाई कटाक्ष गर्दै लेखेका छन्, ‘यिनका आधुनिक विष्ट (फ्यान) घटिहाल्छन् नि। के बोल्थे बरै।’
त्यस्तै, अर्का फेसबुक प्रयोगकर्ता सुमन विश्वकर्माले कमेन्टमा लेखेका छन्– समाज र सामाजिक सञ्जालमा जातीय विभेदको कुरा आगो जस्तै दन्केको छ। कलाकारले समाजलाई पनि प्रतिनिधित्व गनुपर्छ। तपाईं दलित समूदायलाई प्रतिनिधित्व गर्ने पब्लिक आइन भएर दुईचार शब्द केही बोल्नु पर्छ कि पर्दैन?’
सुशील नेपाली, नास्तिक भाइ, सुमन विश्वकर्मा लगायतहरुको प्रतिक्रियालाई रिमाले कसरी लिएकी छिन्? उनी यो विषयमा किन मौनता साँधिरहेकी छन्? यी प्रश्नको जबाफ रिमालाई नै थाहा होला। उनी अब यो विषयमा बोल्लिन वा नबोल्लिन् यो कुरा पनि रिमालाई नै थाहा होला। तर, उनलाई सोधिएका प्रश्नहरु एकदमै जायज र महत्वपुर्ण भएकाले रिमाले यी प्रश्नहरुलाई नजरअन्दाज गर्न भने मिल्दैन।
हो, रिमा एक कलाकार हुन्। कलाकारको जात हुँदैन। कलाकारले कसैले पक्ष लिनु हुँदैन। तर, कलाकारले सधैँ अन्यायका विरुद्धमा बोलेर सामाजिक न्यायका लागि पैरवी चाहिँ गर्नुपर्छ। कलाकारको काम अभिनय वा गाउने वा नाँच्ने मात्रै हुँदैन, समाजमा कसैलाई अन्याय पर्दा त्यसविरुद्ध बोल्ने पनि हुन्छ, सहीलाई सही र गलतलाई गलत भनेर। अन्याय अझ आफ्नै समूदायमाथि भएको हो भने त एकदमै शसक्त भएर बोल्नुपर्छ।
दलित समूदायमाथिको अन्यायविरुद्ध सडकमै आएर नबोले पनि अनुसन्धान नै प्रभावित हुने गरी मुद्धामा हस्तक्षेप गर्ने मन्त्रीविरुद्ध त बोल्न सक्थिन्, जातीय विभेदको संरक्षक राज्यविरुद्ध त बोल्न सक्थिन्, उनी। कम्तिमा उनी यो लडाइँ नेवार र दलितबीचको नभएर न्याय र जातीभेदीबीचको भएको त भन्न सक्थिन्। उनले यसो भन्दा उनका फ्यानहरु उनीसँग रिसाउने सम्भावना पनि टर्थ्यो। र, सत्य बोल्दा पनि कोही रिसाउँछन् भने उनीहरुलाई रिसाउन् दिनुपर्छ भन्ने दिव्यज्ञान पनि उनलाई प्राप्त हुन्थ्यो।
अन्य सामाजिक विषयमा निसंकोच र निर्धक्क बोल्ने रिमालाई जातीय भेदभाव जस्तो जघन्य अपराधविरुद्ध बोल्ने केले रोकिरहेको छ? नास्तिक भाइले भनेजस्तै उनी फ्यान घट्लान भन्ने डरले नबोलिरहेकी हुन् कि? धेरैलाई जस्तै उनलाई पनि यो मुद्धामा रुपा पीडित लागिनन् कि वा भनौँ घर कसलाई दिने कसलाई नदिने भन्ने अधिकार घरबेटीसँग हुन्छ भन्ने लाग्यो कि? आज भोलि जातकै कारण आफूले यस्ता समस्या भोग्न नपरेकाले उनलाई यी समस्या समस्या नै लाग्न छाडे कि? या कतै सेलिब्रिटी भइसकेपछि उनले आफू दलित हुँ र दलितहरु अझै पनि अन्यायमा छन् भन्ने नै बिर्सिन् कि?
कारण जे पनि हुन सक्छ । तर, शसक्त भएर आवाज उठाउनुपर्नेहरु नै यसरी चुप बसिदिँदा जातीभेदीहरुले यसको लाभ उठाउँछन्, सदियौँदेखि उठाइरहे जसरी नै । जसका कारण दलित समूदाय झन् दलनमा पर्छ ।
रिमा विश्वकर्मा त एक उदाहरण मात्र हुन्। यो विषयमा मौनता साँध्ने दलित समूदायका सेलिब्रिटीहरु प्रशस्तै छन्।