नेपालका स्टार क्रिकेटर सन्दिप लामिछाने यतिबेला सिन्धुपाल्चोकको मेलम्ची पुगेका छन्। बाढीपहिरो प्रभावित क्षेत्रमा राहत पुर्याउन उनी त्यहा पुगेका हुन्। सिन्धुपाल्चोक पुगेपछी उनले आफ्नो सामाजिक सञ्जालमा साझा गरेका छन्।
‘प्राकृतिक विपदसँगको जीवनको सङ्घर्ष खेल मैदानमा सशक्त टिमका विरुद्ध जितका लागि गरिने सङ्घर्षभन्दा अत्यन्तै कठिन र कैयौँ गुना कहालीलाग्दो हुँदो रहेछ भन्ने कुराको ताजा अनुभूति भर्खरै बाढीपहिरो प्रभावित क्षेत्र (मेलम्ची, सिन्धुपाल्चोक) पुगेपछि गहिरो गरी अनुभव गर्न पाएँ,’ उनले फेसबुकमा लेखेका छन्।
यो अनुभूतिले जीवनमा मानवीयताको महत्त्वलाई अझै गम्भीर र अझै संवेदनशील तवरले बुझ्नुपर्ने कुरा आफ्ना लागि दिव्यज्ञान प्राप्त गर्ने सौभाग्य बनेजस्तै महसुस गरेको बताए। उनले लेखेका छन्, ‘अँध्यारोलाई सराप्नुभन्दा एउटा मैनबत्ती बाल्नु बेस भनेझैँ थोरै सही, सानो सही, दुखेका घाउहरूमा सान्त्वनाको मलमपट्टीको रूपमा राहत र सहयोग तथा निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रम लिएर प्रभावित क्षेत्रसम्म पुग्दा साथ र सहयोगमा दिनुहुने “टिम सन्दीप लामिछानेका” सदस्य साथीहरू, निशुल्क स्वास्थ्य शिविरका मेडिकल टिम ,विभिन्न सङ्घसंस्था र तमाम सहयोगी महानुभावमा हार्दिक नमन।’
यस्तो सहयोगका अभियानहरु जारी राख्ने बताउदैँ उनले सहयात्राका लागि सर्वसाधारणलगायतलाई अनुरोध समेत गरेका छन्।