भारतमा गत २४ घण्टामा कोरोनाभाइरसबाट करिब ४९ हजार थप मानिस सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४८ हजार ७ सय ८६ जना सङ्क्रमित भएका हुन्।
यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म कूल सङ्क्रमितको संख्या तीन करोड ४ लाख ११ हजार ६ सय ३४ पुगेको जनाइएको छ। अघिल्लो दिनको तुलनामा बिहीबार सार्वजनिक गरिएको तथ्याङ्कमा केही बढी देखिएको सरकारी अधिकारीहरुले जनाएका छन्। अघिल्लो दिन ४५ हजार ९ सय ५१ जना नयाँ सङ्क्रमित थपिएको विवरण संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको थियो। मंगलबार सार्वजनिक गरिएको तथ्याङ्कमा १०२ दिनपछिकै सवैभन्दा कम सङ्क्रमितहरु भएको देखिएको थियो।
पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारण ९ सय ९१ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या तीन लाख ९९ हजार ४ सय ५९ पुगेको छ।
हाल भारतमा पाँच लाख २३ हजार २५७ जना सक्रिय सङ्क्रमित रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१ हजार ५ सय ८८ जना कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन्।