अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा बिहीबार सेनाले गरेको कारबाहीमा १२ जना तालिबानी लडाकू मारिएका छन्। सेनाले जारी गरेको विज्ञप्तिमा बाल्ख प्रान्तको चार्बोलाक जिल्लामा भेला भएका तालिबानी लडाकूलाई लक्षित गरी सेनाले हवाई आक्रमण गरेको उल्लेख छ।
सेनाको कारबाहीमा तालिबानका स्थानीय एक मुख्य कमान्डर सईद नूर खालिदको पनि मृत्यु भएको सेनाले दाबी गरेको छ। खालिदले बाल्ख प्रान्तमा छायाँ न्यायाधीशका रुपमा पनि काम गर्ने गरेको सेनाको भनाई छ। तालिबान समूहले भने तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।
अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले हाल ७० भन्दा बढी जिल्लालाई आफ्नो नियन्त्रणमा लिइसकेको बताइएको छ। अफगानिस्तानमा विगत २० वर्षदेखि रहेका अमेरिकी र नेटो आबद्ध सेनाले आगामी सेप्टेम्बर ११ अगाबै अफगानिस्तान छाड्ने भएपछि तालिबान समूहले सरकारी फौजमाथि आक्रामक नीति अपनाएको छ।