महान् दार्शनिक तथा मनोवैज्ञानिक फ्रेडरिक नित्सेले आफ्नो ‘प्रिन्सिपल अफ मोरालिटी’ अर्थात् नैतिकताको सिद्धान्तमा मानिसको मानसिकताका आधारमा उनीहरुलाई दुई समूहमा विभाजन गरेका छन्।
नित्सेले नैतिकताको सिद्धान्तमा विभक्त गरेका दुई खेमा हुन्, जिनियस र हर्ड अर्थात् प्रतिभावान र भीड। उनले यी दुई खेमालाई फेरि दुई–दुई भागमा विभाजित गरेका छन्। जिनियसलाई क्रियटिभ र हिडनमा र हर्डलाई लास्ट म्यान र स्लेभमा।
जिनियस शब्द स्वयंले भने जस्तै यो खेमाका मानिसहरु प्रतिभावान् हुन्छन्। यिनीहरुको प्रयास सधैँ समाजलाई हिजोभन्दा आज र आजभन्दा भोलि राम्रो बनाउने हुन्छ। समाजलाई आफ्नो सिर्जना र सीपमार्फत सही बाटोमा डोर्याउन यिनीहरु हरपल प्रयासरत हुन्छन्।
अब कुरा गरौँ, यसका दुई प्रकार क्रियटिभ र हिडन जिनियसबारे। क्रियटिभ जिनियसमा संगीतकार, लेखक, चित्रकार, खेलाडी लगायत पर्छन्। यिनीहरु समाजसँग प्रत्यक्ष रुपमा जोडिएका हुन्छन्, आफ्नो सीप र सिर्जनामार्फत। भने हिडनलाई समाजले प्रत्यक्ष रुपमा चिन्दैन। समाजले यिनको उपस्थितिको प्रत्यक्ष रुपमा आभाष पनि गर्दैन। जस्तो कि, कर्मचारी, व्यावसायी, कुटनीतिज्ञ आदि। समाजमा यिनीहरु अल्पसंख्यक हुन्छन् ।
अब कुरा गरौँ समाजको दोस्रो प्रकार हर्ड अर्थात् भीडको। यो समूह न प्रतिभावान् हुन्छ न उत्पादनशील। यो समूह न आफ्नो भलो सोच्छ न समाजकै। आफ्नो र समाजको भलो नसोच्नेमात्र होइन, यो समूह त समाजलाई विखण्डित गरेर समाजलाई अशान्त बनाउन सधैँ उद्दत् रहन्छ।
यो समूहलाई पनि नित्सेले दुई भागमा बाँडेका छन्। लास्ट म्यान र स्लेभ्स। लास्ट म्यानहरु आफ्नो ‘कम्फर्ट जोन’ बाट बाहिर आएर काम गर्न चाहँदैनन्। जे–जति गर्छन्, त्यसैलाई अन्तिम र सर्वोत्कृष्ट मानेर रमाउँछन्। यिनीहरु कहिल्यै नयाँ–नयाँ कुरा सिक्ने–जान्ने चेष्टा गर्दैनन्। एकदमै अल्छी प्रवृत्तिका हुन्छन्, यिनीहरु। भने दासहरुले आफूलाई जीवनसामु पूर्ण रुपमा समर्पित गरिसकेका हुन्छन्। ‘लुजर’ को ट्याग नै भिरिसकेको हुन्छ। यो खेमामाथि परिवार, समाज समग्रमा भन्नु पर्दा राष्ट्रकै दबाव हुन्छ।
यो समूहमा बिस्तारै आफूले केही गर्न नसकेको र आफू जीवनमा हरुवा भएकोमा लज्जाबोध हुन थाल्छ। यिनीहरुमा एक प्रकारको ‘अनफेयर इगो’ पलाउँदै जान्छ। आफूले गर्न नसकेको काम अरुले गरिरहेको देख्दा जलन हुन्छ। यतिमात्र होइन यिनीहरु आफूले गर्न नसकेको काम अरुलाई पनि गर्न नदिन लागी पर्छन्। त्यसका लागि लास्ट म्यान र स्लेभ दुवै मिल्छन् र बन्छन्, हर्ड। हर्ड अरुलाई पनि केही गर्न नदिन संगठित हुन्छ र निर्णय गर्छ– हामीले गर्न नसकेको काम अरुले पनि गर्न सक्दैन, अरुलाई पनि गर्न दिनु हुँदैन।
भीडलाई ‘डेन्जर अफ डेन्जर’ पनि भनिन्छ। भीड मानसिकता भएकाहरु समाजका लागि कति हानिकारक हुन्छन् भने, यिनीहरु आफ्नो छुट्टै समूह र समूहको मुल्यमान्यता बनाउँछन्। भीडको मुल्यमान्यताले सबैलाई आफूजस्तै लुजर बन्न प्रेरित गर्छ। भीडले आफ्नो सपनाको बाटोमा हिँडिरहेकाहरुको बाटोमा आफ्नो ‘लुजर्सभ्याल्यु’ बिछ्याइदिन्छ। सपना नदेख्न दुरुत्साहन गर्छ। भीड आफ्नो मुल्यमान्यता अरुमाथि लाद्न हदैसम्मको प्रपञ्च रच्छ। र, बिस्तारै सफल पनि हुँदै जान्छ।
नित्सले भीड मानसिकताबाट आफूलाई टाढा राख्न सुझाएकामात्र छैनन्, टाढा राख्ने उपाय पनि सुझाएका छन्। यस्तो मानसिकताबाट टाढा रहन उनले भनेका छन्– आफ्नो मुल्यमान्यतासँग थोरै पनि सम्झौता नगर, बरु हरेक दिन आफ्नो मान्यतालाई बलियो बनाउन लागी पर।
र, उनले आफ्नो मुल्यमान्यतामा कसरी सधैँ अडिक रहन सकिन्छ भनेर पनि उपाय सुझाएका छन्। उपायमा उनले भनेका छन्– सबै खाले भीडबाट आफूलाई टाढा राखेर चिन्तन गर। सबैभन्दा धेरै समय आफैँसँग बिताउ। हरेक दिन आफैँले आफ्नो मूल्याङ्कन गर, आफूलाई आफैँले हरेक दिन निरिक्षण गर, परीक्षण गर।