मैले यो ब्लग लेखिरहँदा हिरासतबाट छुटेकी सरस्वती प्रधानलाई झण्डावाला गाडीमा हुईंक्याउने पाँच वटा मन्त्रालय सम्हालिरहेका मन्त्री कृष्णगोपाल श्रेष्ठ त पक्कै मस्त निद्रामा छन्। न्याय खोज्दै कहिले प्रहरी त कहिले अदालत धाउँदा–धाउँदै थाकेकी रुपा सुनार भने मध्यरातसम्म जागा नबसी नहुने बाध्यतामा होलिन्। उनलाई रातमा चैनले निदाउने छुट पनि त समाजले दिएको छैन। त्यसरी नै रुपा सुनारमाथि भएको जातीय विभेदको विषयले अहिले सिङ्गो दलित समुदाय र समानतामा विश्वास गर्ने धेरैको निद खोसेको छ।
घडीमा रातको २ः२५ बजेको छ। ६० जनाभन्दा धेरै व्यक्तिहरु जागिरहेका छन्, क्लव हाउसमा। उनीहरु रुपा सुनारमाथि भएको विभेदसँगै फेरि एकपटक तातेको जातीय विभेदको विषयमा कुरा गरिरहेका छन्।
जोडदार बहस चलिरहेको छ–जातीय विभेदको बारेमा। सहभागीहरुमध्ये धेरै नेपालमै बस्ने नेपाली छन् भने केही विदेशमा रहेका नेपालीहरु। यहाँ सर्वसाधारण पनि छन्, सामाजिक अभियन्ता पनि। राजनीतिक दलका नेता पनि छन् अनि अभिनेता (कलाकार) पनि। दलित पनि छन् गैरदलित पनि।
मध्यरात सकिएर झिसमिसे बिहानी हुन लाग्दा पनि पालैपालो आफ्ना तर्कहरु राखिरहेका छन्, बढो जोशका साथ।
मिश्रित खालका तर्कहरु सुनिँदै छ। अपवादबाहेक सबैको सार एउटै छ– जातीय विभेदको अन्त्य हुनुपर्छ।
त्यसका लागि सबै जात र समुदायले भूमिका निर्वाह गर्नुपर्ने आवाज बुलन्द रुपमा प्रस्तुत भइरहेको छ।
छलफलका क्रममा कसैले इतिहास स्मरण गराईरहेका छन् भने कसैले भविष्य दर्शाइरहेका छन्। भोगाईका कुराहरु भइरहेका छन्, भावनाका कुराहरु भइरहेका छन्। सँगै भइरहेका छन् सिद्धान्तका कुरा पनि।
रुपा सुनारमाथि भएको विभेदले नवराज बिकको हत्या भएको बेलामाभन्दा ठूलो बहस छेडेको छ। राजधानीमै विभेद भएकोले पनि हुन सक्छ सञ्चारमाध्यमहरुले पनि राम्रै कभर गरिरहेका छन्।
रुपा सुनारमाथी भएको विभेद पहिलो जातीय विभेद होईन। रुपामाथि नै नानाथरी आरोप लगाउने कथित सचेत युवाहरुको झुण्ड देख्दा थाहा हुन्छ, यो अन्तिम पनि होईन। ठूलो विडम्बनासाथ लेख्नु परिरहेको छ, अझै यस्ता र योभन्दा निकै जघन्य विभेदका अपराधहरु हुने छन् हाम्रै आँखाको सामुन्ने।
बरको रुखले जमिनमा फैलाएको जराजस्तै फैलिएको छ समाजमा जातीय विभेद। फैलिएको मात्र होईन निकै तलसम्म गडेर बसेको छ। जातीय भावनाले हाम्रो समाजमात्र होइन हाम्रो मस्तिष्कमा पनि जरा गाडेको छ।
एउटा सानो उदाहरणः एउटा केटी वा केटा ११ पढ्न कलेज जान्छ। त्यहाँ उसलाई एउटा केटी वा केटा मनपर्छ। उसले त्यो केटा वा केटीको बारेमा दिनरात सोचि बस्छ। उ सँग एकपटक बोल्न पाए हुन्थ्यो भनेर दिन काट्छ। र, एकदिन उनीहरु एकाअर्कासँग बोल्छन्। एकअर्काको नाम सोध्छन्। अनि त्यो केटा वा केटीमध्ये एकजनाको नामको पछाडी त्यस्तो थर जोडीएको हुन्छ जसलाई यो समाज र सरकारले ‘‘दलित’’ भन्ने क्याटोगोरीमा राखेको छ। त्यसपछी के–के हुन्छ वा के–के हुन सक्छ भन्ने कुरा हामी सबैलाई थाहै छ।
यो जात नामको पर्खाल। जुन नाघ्नै नसकिने भने होइन्। ननाघिएको पनि होइन्। तर, कुनै कालखण्डमा कुनै व्यक्ति, वर्ग वा समुदायले निहित स्वार्थपुर्तीको लागि मान्छे र मान्छेको विचमा ठड्याइदिएको यो अदृष्य तर एकदमै मजबुतजस्तो देखिने पर्खाल भत्काउन भने निकै मुश्किल भइरहेको छ।
जातीय विभेद हटाउन विभिन्न आन्दोलन र युद्धहरु पनि भए। तर, पनि यो जातीय विभेद भन्ने जघन्य अपराधको अन्त्य भने हुन सकेको छैन। विभेद उन्मुलनका लागि प्रशस्तै रिसर्चहरु पनि भए। विभिन्न खालका समाधानका उपायहरु निकालियो। कानुन पनि बन्यो।
तर, रुपा सुनारको प्रकरणसम्म आइपुग्दा सबै छर्लङ्ग देखिँदैछ। जातीय विभेदलाई बढावा दिने व्यक्तिहरु कुन तहसम्ममा रहेछन् भन्ने स्पष्ट भएको छ। जातीय विभेदका आरोप लागेका व्यक्तिलाई प्रश्रय दिन कानुनकै समेत धज्जी उडाउन पछि नपरेका मन्त्री पनि देखियो।
लाशमाथी समेत राजनीति गर्न पछी नपर्ने यी राजनीतिक दलहरुले यत्तिको मुद्दा पाउँदा किन राजनीतिकरण गर्न चुक्थे? हरेक पटक जस्तै यसपटक पनि राजनीति मज्जैले छि¥यो जातिय विभेदविरुद्दको सङ्घर्षमा।
ठुला दलहरुले ‘भोट बैंक’को साइज नापेर आफ्ना गतिविधि शुरु गरे। सक्नेले गाडी लिएर ‘रिसिभ’ गर्न गए नसक्नेले मौन बसेर भएपनि आफ्नो भोट बैंकको बचाउ गरे।
विज्ञप्तिसम्म जारी गरेर चाँहि सबैले कर्मकाण्ड पुरा गरे। एक–दुई गैरदलित नेताहरुको आवाज पनि सुनियो। दलित समुदायका नेताहरुले पनि बोलेजस्तो गरेर आफ्नो भोट बैंक सुरक्षित गरे।
जातीय विभेद अन्त्यका लागि के गर्नुपर्छ भन्ने कुरा एकदमै साधरण शब्दमा राख्न चाहन्छु। जातीय विभेद अन्त्य गर्नका लागि अरु केही गर्नु पर्दैन। मात्र आफू मान्छे बन्न सके हुन्छ। मान्छे बनेर मान्छेलाई मान्छेसरहको सम्मान र व्यवहार गरे पुग्छ।
भान्सा, धारा, पार्क, खेत, मन्दिर, स्कुल–कलेज, अफिस, खेलमैदान, युद्द मैदान, प्रहरी कार्यालय, न्यायालय, सामाजिक सञ्जाललगायत हरेक ठाउँमा खुल्ला हृदयका साथ मान्छे मात्र बनेर उभिन सक्यौ भने जातीय विभेदको अन्त्य हुन सक्छ। मान्छे बन्ने बित्तिकै जातका आधारमा हुने विभेद यसै उन्मूलन भइजान्छ। जातीय विभेद मात्र होइन, हरेक प्रकारका विभेद उन्मूलन भइजान्छन्।
के सकिन्छ त मान्छे बन्न?