थाईल्याण्डको राजधानी बैंकक नजिकैको एउटा रासायनिक कारखानामा सोमबार विस्फोट भई भएको आगलागीमा कम्तिमा २० व्यक्ति घाइते भएका छन् भने एकको मृत्यु भएको छ। समुत प्राकान प्रान्तको बाङ्ग फली जिल्लामा स्थानीय समय अनुसार बिहान तीन बजेतिर विस्फोट हुँदा ‘प्लास्टिक फोम’ उत्पादन गर्ने कारखानामा क्षति भएको थियो।
बिस्फोटपछि उक्त प्लान्टमा ठूलो आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त विस्फोट १९८९ मा थाईल्याण्डमा स्थापना गरिएको ताइवानी मिङ दिह नामक केमिकल कम्पनीमा भएको हो। घटनामा चिनियाँ राजदूताबासका अनुसार घटनामा कम्तीमा एक चिनियाँ नागरिक घाइते भएका बुझिएको छ। कारखानामा कम्तीमा २० टन रासायनिक सामग्री रहेको बताइएको छ।
आगलागी नियन्त्रणमा आइसकेको बताइएको छ। घाइतेहरूमा अधिकांश कारखानामा काम गर्ने श्रमिकस्तरका कर्मचारी रहेका छन् भने बिस्फोटपछि लागेको आगलागीका कारण कारखाना वरपर रहेको आवासीय क्षेत्रसमेत प्रभावित भएको छ। स्थानीय सरकारले खतरनाक रासायनिक सामग्रीबाट आएको ग्यास र अर्को विस्फोट हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीयलाई कम्तीमा पाँच किलोमिटर क्षेत्रमा बस्ती खाली गर्न र सुरक्षित स्थानमा जान निर्देशन दिएको छ।
उनीहरूलाई जिल्लाको एक विद्यालयमा अस्थायी आश्रय प्रदान गरिएको जिल्ला प्रमुख बाङ्ग फली सोमसाक काओसेनाले बताए। बिस्फोट र आगलागीको कारण अझै पत्ता लागि नसकेको तर अनुसन्धान सुरू भइसकेको बताइएको छ।