भारतमा कोरोनाभाइरसबाट थप ४३ हजार ७३३ जना सङ्क्रमित भएका छन्। योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख ५९ हजार ९२० पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अहिलेसम्म कुल सङ्क्रमित मध्ये १.५ प्रतिशत मात्रै अहिले सक्रिय सङ्क्रमित रहेका हुन्। भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दुइ करोड ९७ लाख ९९ हजार ५३४ रहेको छ। ती मध्ये ४७ हजार २४० जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन्।
यो तथ्याङ्क अनुसार भारतमा अहिले सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या ९७.१८ प्रतिशत रहेको छ। भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार अहिलेसम्म ४२ करोड ३३ लाख ३२ हजार ९७ ओटा स्वाब परिक्षण गरिएको छ। ती मध्ये १९ लाख सात हजार २१६ जना पछिल्लो एक दिनमा गरिएको हो।