शिक्षा मन्त्रालयको नो अब्जेक्सन लेटर अर्थात अध्ययन स्वीकृति (एनओसी) जारी गर्ने सम्बन्धी सूचनामा नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले ध्यानाकर्षण भएको जनाएको छ ।
ईक्यानका महासचिव दिपकराज भुसालले बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयको एनओसी जारी गर्ने सम्बन्धि सूचनामा ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
निषेधाज्ञाको क्रममा मन्त्रालयबाट ५ देशका लागि मात्रै बन्द गरिएको एनओसी हाल खुल्ला गरिएकोमा ईक्यानले आपत्ति जनाएको हो ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना महामारीबाट विश्व नै चपेटामा परेका बेला एनओसी प्राप्त भएपछि विद्यार्थी र अभिभावकलाई शैक्षिक शुल्क पठाउन दवाव पर्ने हुनसक्छ । त्यसैले विद्यार्थी तथा अभिभावक वर्गमा सम्बन्धित देशको महामारीको अवस्था, बोर्डर खुला भए नभएको वा कति समयपछि खुल्ने हो जस्ता सबै विषयहरूमा विचार पुर्याएर मात्र विदेशी शैक्षिक संस्थालाई शुल्क वापतको रकम पठाउनहुन अनुरोध गर्दछौं ।’
शुल्क पठाएपछि लामो समयसम्म प्रक्रिया नै हुन नसक्दा, भिसा प्राप्त गर्ने र भ्रमण गर्न सक्ने विषय अनिश्चित बन्दा गम्भीर आर्थिक भार र मानसिक तनाव उत्पन्न हुनेप्रति गम्भीर हुन जरुरी रहेको विज्ञप्तिमार्फत सचेत गराइएको छ ।
तर, शिक्षा मन्त्रालयको एनओसी जारी गर्ने सम्बन्धि सूचनाले जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनमा अध्ययन गर्न चाहने र प्रक्रिया पूरा गरि शुल्क पठाउन नपाएका विद्यार्थीलाई सकरात्मक रहेको बताइएको छ ।
ईक्यानले विदेश जान चाहने नेपाली विद्याथीहरूलाई वैकल्पिक उपाय तथा सावधानीका लागि समयमै अध्ययन गर्न जाने व्यवस्था मिलाउन सम्बन्धित सरकारी निकायसँग अपील गरेको छ ।
स्वास्थ्य सावधानीका साथै कोरोनाविरुद्धको खोप लगाएका विद्यार्थीलाई सम्बन्धित मुलुक भ्रमणको अवसर प्रदान गर्ने व्यवस्था गर्न समेत ईक्यानले माग गरेको छ ।