मेडिकल इन्टर्नशिप विद्यार्थीहरु (चीन)ले नेपालमा इन्टर्नशिप गर्न पाउनुपर्ने माग गर्दै चिकित्सा शिक्षा आयोगलाई ज्ञापन पत्र बुझाएका छन् ।
बिहीवार चिकित्सा शिक्षा आयोग पुगेर उनीहरूले बाध्यात्मक परिस्थितिका कारण नेपालमा इन्टर्नशिप गर्ने व्यवस्था मिलाइदिन माग गर्दै आयोगलाई आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेललाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझाउन विद्यार्थीहरू शैक्षिक सत्र २०१५–१६ र २०१६–१७ मा चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । तर, अधिकांश सैद्धान्तिक विषय पूरा गरेका बेला कोरोना कारण उनीहरू नेपाल फर्किन बाध्य भएका थिए । पछि प्रयोगात्मक विषयका लागि बोलाइने आशमा उनीहरूले नेपालबाटै सैद्धान्तिक विषय अनलाइनबाट पढ्दै गएका थिए ।
अहिले चीन सरकारले मिलेसम्म आफ्नै देशमा प्रयोगात्मक अध्ययन गर्न सुझाव दिएपछि आफूहरू बिचल्लीमा परेको भन्दै उनीहरूले त्यसका लागि आयोगमा ज्ञापन पत्र बुझाएका हुन् । यता प्रयोगात्मक गर्न नपाउने र चीनमा पढिआएको विश्वविद्यालयले नबोलाउँला शैक्षिक यात्राको भविष्य नै अन्धकार भएको उनीहरूको गुनासो छ ।
त्यसकारण आयोगले अभिभावकत्व लिएर भविष्य सुनिश्चित गरिदिने उनीहरूको विश्वास छ ।
यसअघि आयोगले विदेशी विश्वविद्यालयबाट २०२० अप्रिलसम्म पास आउन भएकालाई नेपालमा इन्टर्नशिप गर्न दिने निर्णय गरेको थियो । तर, उनीहरूले २०२१ जुनमा पास आउट भएका विद्यार्थीलाई समेत इन्टर्नशिप गर्न दिइनुपर्ने माग गरेका छन् ।
२०२१ जुनसम्ममा पास आउट भएका तथा इन्टर्नशिप गर्न नपाएका विद्यार्थीको संख्या २ सय बढी रहेको बताइएको छ ।