उत्पीडनको ३५ सय वर्ष लामो इतिहासमा दलित समुदायले विभिन्न कालखण्डमा विभिन्न किसिमका विभेद भोग्दै आएको छ। २१ औँ शताब्दीको विज्ञान र प्रविधिको युगमा आइपुग्दा पनि दलित समुदायले विभेद भोगिरहेकै छ।
गायक शिव परियारका शब्द सापटी लिएर भन्नु पर्दा अहिले दलित समूदायले आधुनिक शैलीको विभेद खेपिरहेको छ। ‘बाजेबराजुको पुस्ताले ठाडै अपशब्द बोलेर विभेद गथ्र्यो। अहिलेको पुस्ताले चाहिँ आधुनिक शैलीमा विभेद गर्छ। जस्तो कि, तिम्रो जातका कारण हामीले तिमीलाई कोठा दिन सकेनौँ, नरिसाऊ है बहिनी !’ रुपा प्रकरणमा आफ्नो विचार राख्दै गायक परियारले फेसबुकमा लेखेका थिए।
जातीय विभेदको ३५ सय वर्ष लामो इतिहासमा जातीय विभेद हटाउन विभिन्न कालखण्डमा विभिन्न योद्धाहरुले विद्रोह पनि गरे। राज्यसत्ता तथा शासकहरुले उनीहरुको आवाजलाई सधैँ दबाए। तर एकाधको विद्रोहीका अगाडि भने उनीहरुको केही लागेन। शासकहरु पनि ती विद्रोहीसामु घुँडा टेक्न बाध्य भए।
यस्तै, राज्यासत्तसामु हार नमानेका विद्रोहीमध्येकी एक हुन्, नांगेली। इतिहास बहुसंख्यकहरुको मात्र लेखिने भएकाले अझ भनौँ इतिहास पीडकहरुको मात्र लेखिने भएकाले नांगेलीको वीरताको कथा इतिहासमा कहीँकतै उल्लेख छैन। दलितको शरीरसँगै विचार र विद्रोहमाथि पनि बन्देज गरिने भएकाले उनको वीरताबारे धेरैलाई थाहा छैन। थाहा हुनेहरुले अरुलाई थाहा दिएनन्, थाहा पाउन दिएनन्। त्यसैले, उनको विद्रोहको गीत कसैले गाएन । उनको योगदानलाई इतिहासको गर्तमा दबाइयो।
नांगेलीको विद्रोहको कथा जान्न आजभन्दा करिव २२० वर्षअघि फर्किनुपर्छ, भारतको आजको केरेला राज्यको एक अति नै दुर्गम गाउँ ‘छेरथला’ मा, जहाँ उनले विद्रोह गरेकी थिइन्। र जान्नुपर्छ दलित महिलामाथि गरिने एक निर्मम विभेदबारे।
कुनै समय दलित महिलाले भोगेको यो विभेदबारे सुन्दा तपाईंहरुलाई विश्वास नलाग्न पनि सक्छ, सुनिसकेपछि तपाईंहरुको नशानशामा विद्रोहको ज्वाला सञ्चार पनि हुन सक्छ।
‘मुलाक्रम’ ! दलित महिलाले आफ्नो स्तन छोपे वापत तिर्नुपर्ने कर। भारतमा, आजको केरेला राज्य भएको क्षेत्रमा त्यो बेला यस्तो कानुन थियो। र, यो कानुन सयौँवर्षदेखि चल्दै आएको थियो।
कथित तल्लो जातका महिलाले आफ्नो स्तन छोप्न पाउँदैनथे। कसैले छोप्यो भने त्यसलाई गैरकानुनी मानिन्थ्यो र सजाय स्वरुप स्तनको आकार र तौल अनुसार कर तिर्नुपथ्र्यो। यो कानुन दलित महिलाका लागि कथित ठूलो जातका गाउँ पञ्च तथा राजाहरुले बनाएका थिए। यो कानुन हिन्दुधर्मका ब्राह्मणहरुले बनाएका थिए ।
दलित महिलाहरुसँग बिहान–बेलुकाको छाक टार्ने पनि पैसा हुँदैन्थ्यो। स्नतको कर तिर्ने पैसा त धेरै परको कुरा। उनीहरु आर्थिक अवस्थालाई हेरेर नै यस्तो कानुन बनाइएको थियो। त्यसैले दलित महिलाहरु आफ्नो स्तन देखाएरै हिँड्न अभिशप्त थिए। यो नियमलाई सबैले आफ्नो नियति सम्झेर पालना गरिरहेका थिए।
तर, त्यही गाउँमा बस्ने नांगेलीलाई स्तन खोलेरै हिँड्नु परेकोमा असह्य पीडाबोध हुन्थ्यो। आफ्नो स्तनलाई कसैल क्वारक्वार्ती हेरेर ¥याल काढिरहेको देख्दा उनलाई मरेतुल्य हुन्थ्यो। उनमा विद्रोहको भावना उत्पन्न उत्पन्न हुन्थ्यो।
एकदिन नांगेलीले आफू अल्पमतमा भए पनि राज्यमा प्रचलित कानुनविपरीत जानेबारे सोचिन्। उनले आफ्नो स्तन नदेखाउने र कसैले किन देखाइनस् भनेर सोध्यो भने विद्रोह गर्ने दृढ मनसाय बनाइन्। उनले आफ्नो अठोट सुरुमा आफ्नी सहेलीलाई सुनाइन्।
तर, उनकी सहेली उनीसँग सहमत हुँदिनन्। ‘नांगेली तिमीलाई राम्रोसँग थाहा छ, हामीले आवाज उठाए पनि केही हुनेवाला छैन। यिनीहरुले हाम्रो आवाज वर्षौँदेखि दबाउँदै आइरहेका छन्। हामीसँग यसलाई चुपचाप सहनुको विकल्प छैन।’ सहेलीले भनिन्।
‘यदि मल्लो जातका महिलाहरुलाई आफ्नो छाती छोप्ने अधिकार छ भने हामीलाई किन छैन? उनीहरुले आफ्नो छाती छोपेवापत मुलाक्रम तिर्नु पर्दैन भने हामीले मात्रै किन तिर्नुपर्ने? के हामी उनीहरु जस्तै नारी होइनौँ? उनीहरु जस्तै मान्छे होइनौँ? हामी पनि मान्छे हौँ। हामीलाई पनि उनीहरु सरह जीउने अधिकार छ।’ प्रत्युत्तरमा नांगेलीले भनिन्।
उनले थपिन् ‘जीवन जीउने दुई तरिका हुन्छन्। एक, जे भइरहेको छ त्यही त्यो हुन देऊ, त्यसलाई चुपचाप सहन गर। दोस्रो, जे भइरहेको छ त्यसलाई बदल्ने जिम्मेवारी उठाऊ, त्यसका लागि विद्रोह गर। म दोस्रो तरिकाले जीवन जीउन चाहन्छु।’
नांगेलीले आफ्नो योजना राति श्रीमानलाई पनि सुनाइन्।
‘उनीहरु मलाई जस्तो नजरले हेर्छन्, त्यो देख्दा मलाई आफैँसँग घृणा लाग्छ। मलाई उनीहरु हरेक दिन आफ्ना आँखाले बलात्कार गरिरहेका छन्।’ उनका श्रीमान सुरुमा त केही हच्किन्छन्, तर नांगेलीको आँखामा विद्रोहको यति भयंकर ज्वाला देख्छन् कि त्यसकासामु उनी परास्त हुन्छन् । त्यसपछि उनीसँग नांगेलीलाई साथ दिनुको विपल्प रहँदैन।
‘तिमीले लड्न अठोट गरेको लडाइँ एकदमै कठिन छ, तर असम्भव छैन। नांगेली, तिमी आवाज उठाऊ। बिस्तारै तिम्रो आवाजमा अरुले पनि आवाज मिलाउनेछन्।’ उनले नांगेलीलाई भन्छन्।
श्रीमानको साथ पाएपछि उनको मनोबल ह्वात्तै चुलिन्छ। त्यसको अर्को दिन बिहान उनी स्तन नछोपिकनै आफ्नी सहेलीसँग दाउरा खोज्न निस्किन्छिन्। दाउरा खोजेर घर फर्किँदै गर्दा सेतो बस्त्र धारण गरेका दुई जना ब्राह्मणले उनीहरुको बाटो छेक्छन् र एउटाले नांगेलीलाई सोध्छ, ‘तँलाई थाहा छैन नीच जातको महिलाले स्तन छोप्नु गैरकानुनी हो भनेर?’ उसले नांगेलीलाई हप्काएर स्तन देखाएरै हिँड्न निर्देशन दिन्छ।
नांगेली आफ्नो अठोटबाट किञ्चित पनि पछि हट्दिनन्। उनले कपडा लगाउन पाउनु आफ्नो अधिकार हो भन्दै मान्छेसँग प्रतिवाद गर्छिन्। तर, त्यो मान्छेले उसको कुरा सुन्दैन, उनलाई हातपात गर्न खोज्छ। नांगेलीले त्यसको प्रतिकार गर्छिन्। प्रतिकार स्वरुप उनले उसको अनुहारमा थुकिदिन्छिन् र आफ्नो बाटो लाग्छिन्।
आफ्नो अनुहारमा एउटी नीच जातकी महिलाले थुक्दा उसलाई अपमानबोध हुन्छ, उसको अहम्मा चोट पुग्छ। उसलाई रिसले सहिनसक्नु हुन्छ र गाउँको मुखियालाई लिएर त्यही रात नांगेलीको घरमा पुग्छ।
मुखियाले स्तन छोप्नु गैरकानुनी भएको भन्दै आइन्दा यस्तो नगर्न र गरेको भेटिए मुलाक्रम तिर्नुपर्ने भनेर आफ्नो निर्णय सुनाउँछ। नांगेलीलाई मुखियाको निर्णय स्वीकार्य हुँदैन। उनले विद्रोह गर्ने अठोट गर्दा नै स्तन पनि छोप्ने र कर पनि नतिर्ने सोच बनाएकी हुन्छिन्। तर, आफू अल्पसंख्यक भएकाले उनीसँग कर तिर्नुको विकल्प हुँदैन।
उनी मन नहुँदानहुँदै पनि मुखियासँग एक महिनापछि मुलाक्रम तिर्न सहमत हुन्छिन्। उनले त्यसपछि स्तन छोप्न थाल्छिन्, महिनैपच्छिे कर तिर्ने सहमतिमा।
एक महिना बित्छ।
महिना मरेको अर्को दिन, एकाबिहानै मुखिया कर उठाउन नांगेलीको घरमा आइपुग्छ। त्यसबखत नांगेलीका श्रीमान घरमा हुँदैनन्, घरमा उनी एक्लै हुन्छिन्। मुखियाले करको रकम तय गर्न मुखबाट र्याल काढ्दै उनको स्तन छुन्छ र कर निर्धारण गर्छ।
त्यसपछि मुखियालाई एकैछिन कुर्न भन्दै नांगेली घरभित्र पस्छिन्। उनले अघि नै देखि आगोमा तताइराखेको हसियाँ हातमा लिन्छिन् र ज्वालाझैँ तातो हसियाँले आफ्ना दुवै स्तन काटेर एउटा पातमा राख्छिन् । अनि बाहिर आएर त्यो पात मुखियातर्फ पसार्दै पीडा मिश्रित आवाजमा भन्छिन्, ‘ल लिनुस् मेरो दुवै स्तन। स्तनै नरहेपछि अब मैले कर तिनु पर्दैन होला नि ! ’
छातीबाट रगतको धारो बगाउँदै आलो घाउ लिएर निस्किएकी नांगेलीलाई देखेर मुखिया र ब्राह्मण डराउँदै भाग्छन्। यता नांगेली भने स्तन काटिएको पीडा सहन नसकेर प्राण त्याग गर्छिन्।
काम सकेर बेलुका घर फर्किँदा नांगेलीलाई रगराम्मे भएर ढलेको देख्दा उनका श्रीमानको होस् हवास् उड्छ । नांगेलीले यस्तो गर्लिन् भनेर उनले कल्पानासमेत गरेका हुँदैनन्। उनी त जसरी हुन्छ करका लागि पौसा कमाउन लागिपरेका हुन्छन्।
उनी पत्नी शोकले विक्षिप्त हुन्छन् । नांगेलीसँग आफूले गरेको बाचा उनको आँखै अगाडि झल्झली आउँछ। श्रीमतीका अठोटहरु र त्यसमा आफूले साथ दिन्छु भनरे गरेका बाचाहरु सम्झेर उनी झन्झन् दुखी हुँदै जान्छन्।
उनले छरछिमेकसँग मिलेर नांगेलीको शवलाई सदगत्का लागि घाटमा लैजान्छन्। नांगेलीको शवमा दागबत्ती दिन्छन्। नांगेलीलाई आँखै अगाडि जलेको देख्दा उनलाई सहनै नसक्ने पीडा हुन्छ। सँगै बिताएका सम्झनाहरु तछाडमछाड गर्दै आउन थाल्छन्। सबैभन्दा धेरै नांगेलीलाई साथ दिन्छु भनी गरेको बाचा याद आउँछ उनलाई।
उनमा अब बाँच्नुको कुनै अर्थ छैन भन्ने वैराग पलाउँछ। उनलाई बाँच्नै मन लाग्दैन। उनी आफूलाई त्यही आगोमा होम्छन्। नांगेलीले सुरु गरेको आन्दोलनमा ऐक्यबद्धता स्वरुप उनले पनि आफ्नो ज्यानको आहुति दिन्छन्।
भनिन्छ, आफ्नी श्रीमतीको मृत्युमा सती जाने उनी पहिला पुरुष हुन् रे।
नांगेली र उनका श्रीमानले सल्काएको विद्रोहको त्यो आगो बिस्तारै डढेलो बन्यो र सबैतिर फैलिँदै गयो। आन्दोलनले सम्पूर्ण दलित समुदायको साथ पाउँदै गयो। मुलाक्रमलाई लिएर सम्पूर्ण दलित समूदाय जागेर श्रृंखलाबद्ध रुपमै आन्दोलन गर्न थालेपछि केरेला प्रदेशका राजालाई ठूलै दबाब पर्यो र अन्ततः सन् १८५९ मा यो नियम खारेज गरियो।
यसरी अन्याय र असमानताविरुद्ध ज्यानको बाजि लगाएकी नांगेलीको कारुणिक यथार्थ आधुनिक इतिहासमा भने गुमनाम छ। धेरै दलित योद्धाको जस्तै उनको नाम पनि इतिहासमा अटाएको छैन। नांगेलीहरुलाई कथित उपल्लो जातका शासक तथा मानिसहरुले इतिहासको गर्तमा दबाएका छन्।
आफ्नो प्राणकै आहुति दिएर आफ्नो अधिकारका लागि उनले जुटाएको सहास आफैँमा उदाहरणीय छ।
यसका लागि योद्धा नांगेलीलाई सलाम !
नोट- यो पंक्तिकारलाई, यो लेख लेख्न, यो सर्ट मुभीले धेरै प्रेरित गरेको छ, सहयोग गरेको छ। यो लेख लेख्न, यो पंक्तिकारले यो सर्ट मुभीबाट धेरै सुचनाहरु लिएको छ।