काठमाडौं – हाइटीको सिनेटले जोसेफ लाम्बर्टलाई अन्तरिम राष्ट्रपति घोषणा गरेको छ ।
गत बुधबार हाइटीका राष्ट्रपति जोभेनेल मोइजको पोर्ट औ प्रिन्सस्थित आफ्नै निबासमा गोली हानेर हत्या गरिएपछि राष्ट्रपति पद रिक्त हुन पुगेको थियो ।
लाम्बर्टलाई राष्ट्रपति नियुक्तिको सङ्कल्प प्रस्ताब सिनेटबाट पारित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सङ्कल्प प्रस्ताब शुक्रबार सिनेटमा लगिएको थियो । जसलाई प्रतिपक्षी दल र विभिन्न संगठनहरुले समेतले समर्थन गरेको हो ।
हाइटीको सिनेटमा हाल एक तिहाइ सदस्य मात्रै छन् । प्रस्ताब पारित भएपछि सवैधानिक व्यवस्था बमोजिम सदनमा लाम्बर्टले शपथ ग्रहण गर्नेछन् र तत्कालै उनले कार्यभार सम्हालेर नयाँ सरकार गठनको प्रकृया थाल्नेछन् ।
हाइटीको केही राजनीतिक दलले भने एरियल हेनरीले नयाँ सरकारको नेतृत्व गर्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाएका छन् । राष्ट्रपति जोभेनेलले हत्या हुनुभन्दा दुई दिन अघि मात्रै हेनरीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । तर हेनरीले कार्यभार सम्हाल्न नसकेको र सङ्क्रमणकालीन प्रधानमन्त्री क्लाउड जोसेफले नै आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको प्रकृया सुरु गर्नुपर्ने कही राजनीतिक दलले माग गरेका छन् ।
जोसेफ सेप्टेम्बर २६ का लागि निर्धारित राष्ट्रपति र संसदीय चुनावसम्म आफैं प्रधानमन्त्री रहन अन्तर्राष्ट्रिय समुदायको समर्थन खोजेका छन् ।