राष्ट्रपतीले संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्री नियुक्त गरिएको पत्र जारी गरेपछी सपथ लिन नमानेका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिएका छन्।
राष्ट्रपती कार्यलयले नियुक्ती पत्र सच्याएर जारी गरेपछी देउवाले साँझ शपथ लिएका हुन्। शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले शपथ लिएका हुन्।
सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए।
पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन्। देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुषालले पनि शपथ लिएका छन्।