सर्वोच्च अदालतको परामादेशपछि मंगलबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए।
राष्ट्रपति निवास शितल निवासमा शपथ लिएलगत्तै देउवा सिंहदरबार पुगे।
त्यसपछि देउवाले गृहमन्त्री बालकृष्ण खाँड, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थितिमा पहिलो मन्त्रिपरिषद् बैठक राखे। उक्त बैठकको फोटोको अहिले व्यापक चर्चा छ।
मन्त्रिपरिषद् बैठकको पछाडि भित्तामा राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो देखिएको छ। तर, राष्ट्रपति भण्डारीको फोटोमा ब्लर (आँखा छोपिएको) गरिएको छ।
प्रहरीले कुनै घटनाका दोषीलाई सार्वजनिक गर्दा मुख छोप्न लगाउँछ वा कुनै अपराधिक मानिसको फोटो सञ्चार माध्यमलाई दिँदा नचिनिने गरि मुख छोपेर पठाउँछ।
मन्त्रिपरिषद् बैठकको पछाडि भित्तामा राष्ट्रपति भण्डारीको फोटोमा पनि उनको आँखा छोपिएको छ। उक्त फोटो सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिले सञ्चारमाध्यमलाई दिएको हो, फोटो पत्रकार रोसन सापकोटा हुन्।
राष्ट्रपति भण्डारीको फोटोमा ब्लर भएको फोटोबारे अहिले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ। कतिपयले यसलाई फोटोसप गरिएको भनेका छन् त कतिले राष्ट्रपतिसँगको रिसइबीका कारण सरकारले नै यस्तो हर्कत गरेको आशंका गरेका छन्।
पूर्व मन्त्री तथा एमाले नेता रालवावु पण्डितले समेत उक्त फोटो पाष्ट गर्दै लेखेका छन्, ‘नयाँ सरकारको पहिलो अपराध फोटोमा गणतंत्रको मजाक’ ।
यसबारे मन्त्रिपरिषद् कार्यालय र प्रधानमन्त्री देउवाको सचिवालयले केही सार्वजनिक गरेको छैन।
उक्त फोटो खिच्ने सरकारी सञ्चार माध्यमका पत्रकार रोशन सापकोटाले क्यामराको लाइट राष्ट्रपतिको तस्वीरमा परेकाले सेतो भाग देखिएको दाबी गरेका छन्।
प्रधानन्त्री देउवाको आँखामा लाइट पर्ला भनेर क्यामरालाई अलि माथितिर उठाएर फोटो खिच्दा राष्ट्रपतिको आँखामा पर्न गएको उनको स्पष्टोक्ति छ।