राप्रपा अध्यक्ष कमल थापाले मगंलबार बिहानै एउटा लघुकथा लेखे।
‘को जित्यो, को हार्यो’ शिर्षकको कथा यसप्रकार छ।
‘एकादेशमा एउटा देशको सेनापतिसँग २३ जना सेनानीहरु असन्तुष्ट भएछन्। ती असन्तुष्ट सेनानीहरू विदेशी फौजसँग मिल्न गए। अनि ‘पञ्च भलाद्मी’ समेतको सहयोग लिएर आफ्नो सेनापतिलाई पराजित गरेपछि विद्रोही सेनानीहरु ‘जित्यौँ, जित्यौँ’ भन्दै सगौरव घर फर्केछन्।’
दुई जना पाइलटहरुले संयुक्त रुपमा उडान भरिरहेको दुईतिहाइको ‘जहाज’ कुनै बेला आकाशमा खुबै मज्जाले उडिरहेको थियो। जहाज बलियो थियो। तर, अहिले स्थिति त्यो रहेन।
अहिले न बलियो पार्टी छ, न त बलियो पार्टीको सरकार नै। र, यो सबैको श्रेय माधव कुमार नेपाललाई जान्छ।
नेपाली राजनीतिक वृत्तमा पछिल्लो समय ओलीको चित्रण ‘रावण’को रुपमा भयो। ओली रावण बन्दा माकुनेले विभिषणको भूमिका खेले। र, यसपटक विभिषणले साथ दिएकाहरु राम थिएनन्।
असम्भवलाई सम्भव बनाउँदै नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले एक भएका थिए। विगतमा एक–अर्काप्रति तिखो टिप्पणी गर्ने ओली, दाहाल र माकुनेहरु एक होलान् भन्ने धेरैलाई लागेको थिएन।
नेताहरुमात्र हैन, माओवादी र एमालेका कार्यकर्ताहरु पनि पहिल्यैदेखि एकआपसमा लड्दै–भिड्दै आएका थिए। उबेलाको वाइसिएल र युथ फोर्सको लडाइँ सम्झदा मात्र पनि एमाले र माओवादी कार्यकर्ताबीचको कटुता कुन हदसम्म थियो भन्ने प्रष्ट हुन्छ।
पार्टी एक हुँदैमा त्यो कटुता र कार्यकर्ताबीचको तुष ‘फुमन्तर’ हुनेवाला थिएन। टुप्पोबाट गरिएको एकीकरणले जरालाई एक बनाउन सकेको थिएन।
त्यसका लागि सगंठनात्मक रुपमा पहल त शुरु भएको थियो तर भावनात्मक रुपमा भने एक हुने आधार बन्न सकेको थिएन। त्यसो त टुप्पामा पनि हागाबिगाहरुको मिलाप गाह्रै देखिन्थ्यो।
एमालेबाट ओली र माओवादीबाट दाहालको काँधमा ठूलो जिम्मेवारी थियो– पार्टीलाई हरेक कोणबाट एकढिक्का पार्ने। पछिल्लो समय देखिएको यी दुई अध्यक्षबीचको कटुता झाङ्गिएपछि न नेकपा रह्यो, न कम्युनिष्ट सरकार नै।
पार्टीका दुई अध्यक्षबीच तिक्तता बढीरहँदा माकुनेले सशक्त भुमिका निर्वाह गर्दै विवाद समाधान गर्न सक्थे। उनीबाट धेरैले त्यसको आशा पनि गरेका थिए।
माकुनेले ओली गलत भए ओलीलाई र दाहाल गलत भए दाहाललाई सच्याउन सक्थे।
कसैको पक्ष नलिइकन पार्टी हितका लागि आवश्यक हरेक चिज गर्न सक्थे उनले। उनको क्षमताले पार्टी एकता जोगाउन सक्थ्यो र यो उनको कर्तव्य पनि थियो। तर, माकुने चुके–नराम्ररी।
‘पावर सेन्टर’ बनिरहने ओली र दाहालको स्वार्थले नेकपाभित्र सल्काएको आगोमा माकुनेले सकेजती ‘घ्यु’ थपे।
माकुनेले सुझबुझपुर्ण रुपमा कदम चाल्न नसक्दा कम्युनिष्टले दुईतिहाई, एमालेले सरकार र मुलुकले स्थिरताको अवसर गुमाउनुपर्यो।
समग्रमा, ‘माकुनेले घर जलाएर खरानीको व्यापार’ गरे। यो व्यापारबाट एमालेलाई त कुनै फाइदा हुन सकेन। उनलाई चाहिँ के–कति फाइदा भयो, यो उनैलाई थाहा होला।