नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेपछी भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल आन्दोलनमा उत्रिएको छ। आन्दोलनलाई सशक्त बनाउन ओली निकट युवा संघले लडाकु दस्ता युथ फोर्स व्युँताएको छ।
युवा संघले माधव कुमार नेपालको घर घेराउ गर्ने सम्मको चेतावनी दिएपछी माधव कुमार नेपाल समुह पनि ‘काउन्टर’ दिन अघि सरेको छ। माधव समुहले युथ फोर्सलाई ‘काउन्टर’ दिन अखिल फोर्स गठन गरेको छ। विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर नेपाल निकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको हो।
तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो अनेरास्ववियुका सह–अध्यक्ष वासिम आलमले जानकारी दिएका छन्। उनले शैक्षिक माफिया र अराजकता मच्याउनेका विरुद्ध परिचालन हुनका लागि अखिल फोर्स गठन गरिएको जानकारी दिए।
नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले ओली समूहलाई ‘काउन्टर’ दिन अखिल फोर्स गठन गरेको बताए। उनले देशैभर संगठन निर्माण गरिने जानकारी पनि दिए।