आजभन्दा २० वर्षअघि। अहिलेका चर्चित गायक तथा अभिनेता यश कुमार, यश कुमार भइसकेका थिएनन्। उनी यश कुमार हुने बाटोमा भने थिए।
यश आफ्नो पहिलो एल्बमको तयारीमा जुटिरहेका थिए। गीत लेख्ने र त्यसमा संगीत भर्ने कठोर तपस्यामा थिए। केही वर्षको अहोरात्र खटनपछि एल्बमले जीवन पायो। एल्बममा ८ वटा गीत समाविष्ट भए र एल्बमको नाम राखियो, ‘रिजन’।
डिल्लीबजारस्थित ‘काठमाडौं डिजिटल रकर्डिङ स्टुडियो’ मा रिजनको रेकर्डिङ भयो। रेकर्डिङ भएर बजारमा सार्वजनिक भएको केही महिनामै रिजनले तहल्का पिट्न थालिहाल्यो। २१ वर्षकै कलिलो उमेरमा उनी रातारात सेलेब्रिटी भए। उनको रिजन कति चर्चित भयो भने, यो एल्बमले त्यसबेला सर्वाधिक बिक्री हुने एल्बमको कीर्तिमानी नै बनायो।
‘तिम्रो मन बदलिएछ’, ‘जानी जानी, ‘मैले छोएको पानी चल्दैन’, ‘म कहिले हाँसेको थिएँ, ‘यो मनले’ लगायतका आठवटा गीत समावेश गरिएको यो एल्बम साढे ३ लाख प्रति बिक्री भयो।
‘रिलवाला क्यासेटको जमाना थियो त्यो। क्यासेट पसलेहरुले गैरकानुनी रुपमा डबिङ गरेर त कति बेचे बेचे।’ यश सम्झिन्छन्।
उनले यो एल्बम यति हिट होला भन्ने कल्पनासमेत गरेका थिएनन्। उनी त आफूभित्र गढेर बसेका जीवनप्रतिका सुखदुःखलाई संगीतमार्फत पोख्न चाहन्थे। जीवन, समाज र प्रेमप्रतिको आफ्नो बुझाईलाई पोख्न चाहन्थे।
तर, आफैँले धेरै आशा नगरेको एल्बमले उनलाई धेरै ठूलो सफलता दिलायो। उनलाई रिजनले नाम र दाम त दियो नै, यसले जीवनपर्यन्त सांगीतिक क्षेत्रमै लागिराख्ने बलियो रिजन पनि दियो। उनले त्यसपछि जीवनमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन।
त्यो पप म्युजिकको जमाना थियो। आधुनिक गीतहरु त्यति चल्दैन थिए। रिजनमा समाविष्ट सबै गीतहरु पप र आधुनिक संगीतको फ्युजन मान्छन् उनी। र, मान्छन् यसैलाई एल्बमले त्यो स्तरको चर्चा पाउनुको एउटा कारण। एल्बम हिट हुनुको मुख्य कारण चाहिँ उनी गीतका शब्द मान्छन्।
‘त्यस समयका गीतमा मायाप्रेम, मिलन–विछोडका कुराहरु ज्याँदा हुन्थे। रिजन एल्बमका सबै गीतका शब्दहरु भने चलनचल्तीभन्दा बिल्कुल फरक थिए,’ यश पहिलो एल्बमले स्रोताको अत्याधिक माया पाउनुको कारणको अनुमान गर्छन्, ‘यसमा छुवाछुतको कुरा छ, गलतफहमीका कारण सम्बन्धमा आउने दरारको कुरा छ, सामाजिक, आर्थिक तथा सांस्कृतिक बाध्यताका कारण सँगै हुन नसक्नुका कुरा छ। प्रेमको कुरा त छ नै ।’
रिजनका सबै गीत उत्तिकै चर्चित भए। त्यसमा पनि ‘तिम्रो मन बदलिएछ’ र ‘मैले छोएको पानी चल्दैन’ अझै चर्चित भए। स्रोतहरुले पठाएका पत्रहरुमा यी दुईको खुबै चर्चा गरिएको हुन्थ्यो, तारिफ गरिएको हुन्थ्यो।
देशभरबाट उनका प्रशंसकहरुले उनलाई चिठ्ठी पठाउँथे। ‘धौलागिरी क्यासेट सेन्टर’ को पोस्ट बक्स पत्रै पत्रले भरिन्थ्यो। आफ्नो कामको प्रशंसामा बोराका बोरा पत्र आउँदा उनको खुसीको सीमा हुँदैन्थ्यो।
तर, कहिलेकाहीँ भने उनलाई तिनै पत्रहरुले ननिको लाग्थ्यो। कुनै कुनै चिठ्ठी त रगतले नै लेखिएका हुन्थे। रगतले नै लेखिएका पत्र देख्दा उनलाई नराम्रो लाग्थ्यो।
उनी सबै पत्र पढ्न भ्याउँदैन्थ्यो, भ्याए जति चाहिँ पढ्थे।
‘तीमध्ये कति पत्र त मसँग अहिले पनि छन्,’ यश मुस्कुराउँछन्।
त्योबेला प्राप्त गरेका तमाम पत्र र ती पत्र लेख्ने प्रशंसकसँगमध्ये एउटा प्रशंसकलाई उनी आज पनि सम्झन्छन्। रमाईलो भनौँ वा नरमाईलो त्यो घटना आज पनि याद छ उनलाई।
उक्त एल्बमको ‘तिम्रो मन बदलिएछ’ बोलको गीतले उनकी एक महिला फ्यानलाई कति छोएछ भने, उनले यशसँज कुराकानी गर्न हरसम्भव प्रयास गरिछन्।
धरानकी ती फ्यानले सुरुमा पत्र लेखिन्, आफूलाई यशसँग कुराकानी गर्न मन भएको कुरा उल्लेख गर्दै। पत्रको कुनै जबाफ नआएपछि उनले विभिन्न स्रोतको प्रयोग गरी यशको फोन नम्बर पाउन प्रयत्न थालिन्।
केही साताको निरन्तर प्रयासपश्चात उनले यशको नम्बर पत्ता लगाईछाडिन्। अनि एक दिन उनले यशलाई टेलिफोन गरेर गीत आफ्नो वास्तविक जीवनसँग शतप्रतिशत मिलेको बताइन्।
‘यो गीतमा एउटा लाइन् छ– हिजो हामी भेट्थ्यौँ पहिले जहाँ अरुलाई नै तिमी भेट्छौ रे। उनको जीवनमा पनि यस्तै भएको रहेछ। गीतमा गलतफहमीकै कारण केटाकेटीको सम्बन्ध टुक्रिएझैँ उनहरुको पनि सम्बन्ध टुक्रिएको रहेछ। उनले आफ्नो सम्बन्धबारे सबै कुरा सुनाइन् मलाई।’ यशले सुनाए।
धरानकी ती युवतीलाई जस्तै यो गीतको यो लाइनले धेरैलाई छोएको रहेछ। पत्रमार्फत र प्रत्यक्ष भेटघाटका क्रममा उनलाई उनका अधिकांश फ्यानहरुले भन्थे– यो गीत र त्यसमा पनि यो लाइनले मेरै जीवनको कुरा बोलेको छ।
हाँस्य कलाकार सागर लम्साल उर्फ बले पनि यशको संगीतको ठूलै प्रशंसक रहेछन्। यशका सबै कर्णप्रिय गीतमध्ये लम्साललाई पनि ‘तिम्रो मन बदलिएछ’ औधी मनपर्ने रहेछ। यो कुरा लम्सालले एक महिनाअघि यशसँग भेट हुँदा बताएका रहेछन्।
यतिमात्र होइन, लम्सालले यशलाई यो गीतलाई रिरेकर्ड गरेर यसको भिडियो नै बनाउने प्रस्ताव राखे।
‘उहाँले गीतमा नयाँ म्युजिक र माध्ययको प्रयोग गरी रिरेकर्ड गरेर भिडियो पनि बनाऔँ भनेर प्रस्ताव राख्नुभयो,’ यशले भने, ‘मलाई उहाँको प्रस्ताव राम्रो लाग्यो र मैले हुन्छ गरौँ न त भनेर उहाँको प्रस्ताव स्वीकारेँ।’
अनि त्यसपछि यो गीतलाई रिरेकर्ड गरेर भिडियो बनाउने काम सुरु भयो। मोडलदेखि प्रोडक्सन हाउससम्म सबको बन्दोबस्त लम्सालले नै गरे। भिडियोमा उनी आफैँले केटा पात्रको भुमिका निभाउने भए भने केटी पात्रको भुमिकामा अहिलका चर्चित ‘ट्वीनी गल्र्स’ प्रिज्मा र प्रिन्सी खतिवडालाई छनौट गरे। लम्सालले भिडियो प्रोडक्शन पनि आफ्नै हाउस अर्थात् ‘बले इन्रटेनमेन्ट’ बाटै गरे।
यो गीतको ओरिजिनल भर्सनमा यश कुमार र सपनाश्रीको आवाज छ। अहिले भने सपनाश्रीको ठाउँमा मिलन नेवारले स्वर दिएकी छन्।
‘अहिले सपनाश्री र म सम्पर्कमा छैनौँ। उहाँ अहिले अमेरिकामा बस्नुहुन्छ,’ रिरेकर्डेड भर्सनमा सपनाश्रीको साटो मिलन नेवारले गाउनुुको कारण सोद्धा यशले भने, ‘मिलन नेवारले यो गीतलाई सपनाश्रीले जत्ति नै न्याय गर्नुभएको छ। यो गीत सपनाश्रीले सुन्नुभयो भने उहाँलाई पक्कै पनि मनपर्ने छ।’
त्यस्तै, गायकसँगै एरेन्जरमा पनि परिवर्तन आएको छ। ओरिजिनल भर्सनलाई भुपेन्द्र बज्राचार्यले एरेन्ज गरेका थिए भने नयाँ भर्सनलाई दीपेश राईले।
त्यसताका संगीत सुन्ने चलन थियो, अहिले सुन्ने र हेर्ने दुवै। यशलाई पनि संगीत सुन्ने कुरा नै हो भन्ने लाग्थ्यो। तर, अचेल उनलाई गीत सुन्ने सँगसँगै हेर्ने पनि हो भन्ने लाग्छ।
उनी भन्छन्– तर, गीतलाई भिडियोले न्याय चाहिँ गरेको हुनुपर्छ।
सबैले आआफ्नो तर्फबाट मेहनत गरेकाले गीतको भिडियो एकदमै राम्रो बनेको उनको तर्क छ। सम्पुर्ण टिमसँगै भिडियो निर्देशक निकेश खड्काले गीतले भन्ने खोजेको भाव भिडियोमा दुरुस्तै उतार्न एकदमै मेहनत गरेकाले भिडियो राम्रो बनेको यशको दाबी छ। समग्रमा गीत स्रोताहरुले मन पराउनेमा उनी विश्वस्त छन्।
‘यो गीत मन पराउने स्रोताहरु अहिले बढो भइसक्नुभयो, तर, उहाँहरुको गीतप्रतिको माया र लगाव अझै उस्तै छ। मलाई अहिले पनि स्रोताहरुले यो गीत आफूलाई औधी मन पर्छ भन्नुहुन्छ,’ उनी आशावादी छन्, ‘यो गीत जति पुरानो भए पनि गीतले बोक्ने भाव कहिल्यै पुरानो हुँदैन। हामी अधिकांशको जीवनले कम्तिमा एकचोटि भए पनि मिलन र विछोड भोगेकै हुन्छ।’
२० वर्षपछि आफ्नोे सिर्जना नयाँ माध्यय र शैलीमा आउँदा निकै हर्षित छन् यश। भिडियोसहितको गीतलाई लिएर निकै नै उत्साहित छन् उनी।
गीतको भिडियोमा गलतफहमीका कारण एक जोडीको प्रेम सम्बन्धमा आएको खटपट देखाइएको छ। अरुको कुरा सुनेर एकअर्काप्रति विश्वास घट्दै गएपछि सम्बन्ध बिग्रिने कुरा गीतको मुल मर्म हो।
यश भन्छन्– हामी सबैका आआफ्नै किसिमका समस्या हुन्छन्, बाध्यता हुन्छन्। हामी आफ्नो प्रेमी वा पे्रमिकाकै मुखबाट वास्तविक कुरा सुनेर त्यसलाई बुझ्ने प्रयास गर्दैनौँ। जसका कारण वर्षौँदेखिको हाम्रो गहिरो सम्बन्ध पनि एक दिन बिग्रिन्छ।
‘तिम्रो मन बदलिएछ’ को नयाँ भर्सन शुक्रबार कलाकार सागर लम्सालकै युट्युब च्यायनल अर्थात् ‘बले इन्टरटेनमेन्ट’ मार्फत सार्वजनिक गरिएको छ।