जनता समाजवादी पार्टी (जसपा) का ६ सांसद अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोको साथ छोडेर अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा गएका छन् ।
राजकिशोर यादव, प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, रुही नाथ र नरमाया ढकालले ठाकुर–महतोको साथ छोडेका हुन् । ठाकुर–महतोको साथ छोडेका उनीहरू शुक्रबार बोलाएको संसदीय दलको बैठकमा अनुपस्थित भए ।
केपी ओली सरकारमा मन्त्री नबनाएकाले साह, अग्रहरी र मण्डल अध्यक्ष ठाकुर र राजेन्द्र महतोसँग असन्तुष्ट छन् । ठाकुरसँग २० सांसद छन् तर ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उनलाई साथ दिने सांसदको संख्या घट्दै गएको छ ।
सत्ता परिवर्तन र प्रतिनिधिसभा पुनःस्थापनासँग जसपाका सांसदहरुले कित्ता परिवर्तन गर्न थालेका छन् । निर्वाचन आयोगमा आधिकारिकता विवाद चलिरहेका बेला जसपाको ठाकुर पक्षकासांसद यादवतिर खुल्न थालेका छन् ।
जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगले टुंगो लगाउने बेलासम्म संसदीय दलमा पनि आफ्नो बहुमत पार्ने प्रयास उपेन्द्र पक्षको छ ।