जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच जना सांसद अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा सहभागी भएका छन् ।
शनिबार पार्टी कार्यालय बालकुमारीमा बसिरहेको जसपा संसदीय दलको छलफलमा अध्यक्ष ठाकुर पक्षमा पाँच जना सांसद पनि सहभागी भएको अर्का अध्यक्ष यादवले बताए । उनले सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, नरमाया ढकाल र रुही नाथ जसपा संसदीय दलको छलफलमा सहभागी भएको जानकारी दिए । सहभागी भएका पाँच जना सांसदसहित यादव पक्षमा १७ सांसद छन् ।
ठाकुर पक्ष केपी ओली सरकारमा सहभागी भएपछि जसपामा विभाजनको संघारमा पुगेको थियो । जसपा विवादबारे निर्वाचन आयोगले इजलास समेत गठन गरेको छ ।
आयोगले गठन गरेको इजलासमा आइतबार बिहान ११ बजे जसपा विवाद निरुपणबारे बैठक राखिएको छ । यसका लागि जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई बोलाइएको छ ।
जसपा सांसद राजकिशोर यादवले पनि ठाकुर पक्ष छोडेका छन् । तर आजको बैठकमा भने उनी उपस्थित भएनन् ।
जसपाका ३२ जना सांसदमध्ये यसअघि ठाकुर पक्षमा २० जना थिए । पाँच जनाले उपेन्द्र यादव समूहलाई साथ दिएपछि अब संसदीय दलमा पनि यादव पक्ष १२ बाट १७ मा पुगेसँगै वहुमत भएको छ ।