काठमाडौं – सङ्घीय संसद्को अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ ।
सर्वाेच्च अदालतबाट प्रतिनिधि सभा पुनःस्थाना भएपछि दुवै सदनको अधिवेशन आह्वान भएको हो । अधिवेशनको पहिलो बैठक आइतबार अपराह्न ४ बजे बस्ने छ । बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको संसद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शेरवहादुर देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने तयारी गरेका छन् । सरकारले प्रतिनिधि सभामा विश्वासको मत लिनका लागि संसद सचिवालयमा पत्र दर्ता गरेको छ।
संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
प्रतिनिधिसभामा नेकपा एमालेका १२१, नेपाली कांग्रेस ६३, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४ सांसद छन् । नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा एक स्वतन्त्र सांसद छन् ।
देउवा एमालेको माधव नेपाल तथा जसपाको उपेन्द्र यादव पक्षका समेत बहुमत १४९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । तर अहिले उनले बहुमत ल्याउन सकेनन् भने प्रधानमन्त्री पद स्वतः खारेज हुन्छ र कामचलाउ प्रधानमन्त्रीमा परिणत हुनेछन् ।
एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले साथ दिएमा देउवाले विश्वासको मत पाउनेछन् ।
संसद पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको सर्वोच्चले धारा ७६९५०को प्रधानमन्त्रीका लागि समर्थन गर्दा वा विश्वासको मत दिँदा ह्वीप नलाग्ने र दल त्याग ऐनअनुसार कारबाही गर्न नमिल्ने फैसला गसिसकेको छ ।
बैठकमा प्रतिनिधि सभा विघटनको अवधिमा जारी भएका १६ वटा अध्यादेश पेश हुने कार्यसूची छ ।
कार्यसूची औपचारिक रूपमा भने आइतबार बिहान बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकले अन्तिम टुङ्गो लगाउने छ । बिहान १० बजेका लागि समितिको बैठक बोलाइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको मतको छिनोफानो भई आगामी राजनीतिलाई दिशानिर्देश गर्ने भएकाले अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट निकै चासोका साथ हेरिएको छ ।
अदालतको असार २८ को प्रतिनिधिसभा पुनःस्थानाको निर्णयसँगै नेपालको राजनीतिक नयाँ कोर्समा प्रवेश गरेको छ । विसं २०७४ को निर्वाचनमा प्रचण्ड बहुमत प्राप्त गरी करिब साढे तीन वर्ष सरकार चलाएको नेकपा विभाजनपछिको घटनाक्रमले एमालेलाई यस अधिवेशनमा प्रमुख प्रतिपक्षको भूमिकामा पुर्याएको छ ।
नेपाली कांग्रेस प्रतिनिधिसभामा यसपटक चार वर्षपछि सत्तापक्षको कुर्सीमा बस्दैछ ।