काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।
मन्त्रिपरिषद्को शनिबारको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का कायम रहेका सदस्यमध्ये उपस्थितको बहुमतले संवैधानिक निकायमा नियुक्त गर्न सक्ने गरि अध्यादेश ल्याएको थियो । अध्यादेश अनुसार प्रधानमन्त्री ओलीले लोकसेवा आयोग, अख्तियार र निर्वाचन आयोग लगायतमा नियुक्ती गरेका थिए । अध्यादेश खारेज भए पनि सोबाट भएको नियुक्ती कायम रहनेछ ।
संविधान अनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, प्रधान न्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र प्रतिनिधि सभामा प्रमुख विपक्षी दलका नेता सदस्य रहन्छन् । हाल उपसभामुख पद रिक्त रहेको छ ।