‘५ वर्ष प्रतिपक्षमा बस्ने स्पष्ट जनादेश छ, कांँग्रेसलाई। अतः यता या उताको जोडघटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्।’ – केही समयअघि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो चेतावनी दिएका थिए।
अहिले उनकै सभापती शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन्। कांग्रेसलाई यो अवसर जुराइदिएको चाँहि नेपाली जनताले दुईतिहाइ मत दिएर पठाएको तत्कालीन नेकपाका नेताहरुले नै हो।
कम्युनिष्टहरुबीचको किचलोले उनीहरुको हातबाट सरकारको नेतृत्व त गुम्यो नै, मुलुकको समग्र राजनीतिसमेत अस्थिर बन्यो।
त्यसो त नेपाली राजनीति कहिल्यै स्थिर थिएन। त्यसैले, अहिलेको अस्थिरतालाई पनि खासै गम्भीर रुपमा लिइहाल्नुपर्ने जरुरत छैन। तर, यसपटक जस्तो अति चाँहि कहिल्यै भएको थिएन।
पहिला नेकपा अनि त्यसपछि नेकपा एमालेभित्रको विवादले गर्दा मुलुक र जनतामाथि घात भइरह्यो। महामारीले जनजीवन र अर्थतन्त्र ध्वस्त भएका बेलामा मञ्चन भएको यो नाटक आमजनतालाई भने फिटिक्कै मन परेन। एमालेभित्रको श्रृंखलाबद्ध नाटक हेर्दाहेर्दा जनताहरु वाक्कदिक्क भइसकेका थिए।
चुनावमा एक भएर आएका दुई ठुला कम्युनिष्टहरुलाई दुईतिहाइ मत दिएका थिए, मतदाताले। त्यो जनादेशले मुलुकको राजनीति स्थिर बनाउने सन्देश दिएको थियो।
एकल सरकार चलाउने हैसियतको बलियो नेकपालाई अदालतले खारेज गरेपछि अस्तित्वमा आएको नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) दुबै अहिले निरीह बनेका छन्।
आफ्नै दलभित्रको किचलो मिलाउन नसक्दा एमाले अध्यक्ष ओली बालुवाटारबाट बालकोट पुगे। उता अस्तित्व जोगाउन कहिले रुखको छहारी त कहिले सुर्यको न्यानो खोज्ने अवस्थामा पुगेका ‘कुनैबेलाका सुप्रिमो’ एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुनः रुखको छहारीमा बस्नुपर्ने अवस्थामा पुगे।
बैसाखीको सहाराबिना हिँड्न नसक्नेगरी लगभग क्षेत्रीय पार्टिको हैसियतमा पुगिसकेको माओवादी केन्द्रको चर्चा यहाँ नगरौँ। शेरबहादुर देउवालाई अझै पनि बालुवाटारबाट बुढानिलकण्ठ फर्काउने हैसियत राख्ने एमाले चाहिँ किन यस्तो अवस्थामा पुग्यो? यतातिर लागौँ।
झट्ट हेर्दा सरकार नेपाली कांग्रेसको ‘कोर्ट’मा छ, तर अझै पनि सरकारको तालाचाबी भने नेकपा एमालेकै खल्तीमा छ। तर, अवस्था ‘भाइ फुटे, गवार लुटे’ भन्ने छ।
एमाले यस्तो अवस्थामा कसरी पुग्यो?
कारण स्पष्ट छ– ओलीको अहंकार र माधवको मुर्खता !
दुईतिहाइको धाक लाउँदा–लाउदैँ एकतिहाइले नाक मुनीबाट सरकार उछिट्याएको पत्तो ओलीले सायद सर्वोच्चको फैसला सुनेपछी मात्र पाए। यति भइसक्दा पनि ओलीको आँखाबाट अहंकारको पट्टी हट्यो वा हटेन? थाहा छैन। यो कुरा भावी दिनमा सबैले थाहा पाउने नै छन्। तर, जनतामाझ अहिले उनको जस्तो छवी बनेको छ, त्यसलाई हेर्दा चाहिँ उनी अहंकारको शिखरबाट भावी दिनमा ओर्लिने छैनन्।
आफ्नै पार्टीको सरकार ढलाएर ‘ओलीप्रवृत्ति’ लाई पराजित गरेको दाबी गर्ने माकुनेलाई इतिहासमा एकपटक अक्षमको पगरी गुथीसकेका ‘देउवाप्रवृत्ति’ चाँहि कति मन परेको?
कमरेडलाई आफ्नो ‘इगो स्याटिसफाई’ गर्न देउवाको चरणमा सरकार सुम्पिएर आफुले मुर्खता गरेँ भन्ने कहिल्यै ‘फिल’ हुन्छ कि हुँदैन?
माकुनेलाई गाई आए त्रिशुल चाहिने, त्रिशुल आए गाई। ओलीलाई चाँहि गाई र त्रिशुल दुबै चाहिने।
यही अहंकार र मुर्खताले गर्दा हो नेकपा अनि एमालेको यो हविगत भएको।
पार्टीलाई मजबुद बनाउने जिम्मेवारी महाधिवेशनमा चुनाव जितेर पार्टी अध्यक्ष बनेका ओलीको थियो। ओलीसँग चुनाव हारेका माकुनेको कर्तव्य थियो अध्यक्षलाई खबरदारी गरिरहने।
माओवादी केन्द्रसँग एकता भएपछि उनीहरु अझ जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने थियो। तर, विडम्बना, भएनन्।
ओलीको ‘म’वाद र माकुनेको पदलोलुपता झन्–झन् बढ्दै गयो।
एकातिर निर्वाचित अध्यक्ष भए भन्दैमा आफैँलाई सर्वोसर्वा ठान्ने ओली, अर्कातिर महाधिवेशमा हारेर पनि समान हैसियत माग्ने माकुने। कुरो मिल्ने त कुरै भएन। दोश्रो तहका केही नेताहरुले कसो एमाले चोइटिहाल्न भने दिएका छैनन्, एक बनाउन नसके पनि।
कहिले जुट्ला–जुट्ला हुने अनि फुट्ला–फुट्ला जस्तो। नेकपा एमालेमा योभन्दा बाहेक भइरहेको भनेको आरोप–प्रत्यारोप मात्र हो।
अहंकारी र मुर्खहरुको खेमाबीच मुठभेट नै भएछ भने पनि कसैले नौलो नमान्दा हुन्छ। किनभने यो नौलो कुरा नै होइन।
ओलीको अहंकार र माधवको मुर्खताको अगाडि यो केही हुँदै होइन।