काठमाडौं – प्रतिनिधि सभा सदस्य डा.भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
नेकपा (एमाले) उपाध्यक्ष समेत रहेका अछाम जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रावलले आइतबार राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई आज विश्वासको मत लिँदैछन । त्यस विषयमा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षमा विवाद छ ।
रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा नेपाल पक्षबाट संयोजक थिए । उक्त कार्यदलले एमाले एकताका लागि १० बुँदे सहमति गरेको थियो ।
देउवालाई मत दिँदा संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा रावल थिए । तर नेता नेपाल भने देउवालाई मत दिनुपर्ने पक्षमा छन् ।
राजीनामा दिएपछि पत्रकारसँग कुरा गर्दै रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताए ।
रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताए । ‘तसर्थ देश र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यस दूषित खेलबाट आफूलाई अलग गर्दछु’ उनले भने ।