अहिले नायिका नम्रता सापकोटा आफ्नो एक अभिव्यक्तिका कारण चर्चामा छिन्। सापकोटाले केही दिनअघि न्युज २४ टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘इ–टक’ मा ‘म विवाह नै नगरी सन्तान पाउन चाहन्छु’ भनेपछि उनी चर्चाको शिखरमा छिन्।
सापकोटाको यो अभिव्यक्तिलाई लिएर अहिले सामाजिक सञ्जाल तातेको छ। एक थरिले सापकोटालाई सामाजिक नियम तथा संस्कृति भडुवाँ भन्दै उनको आलोचना गरिरहेका छन् भने, अर्को थरिले मातृत्वको पूर्ण अधिकार एउटी स्त्रीमा हुने भन्दै उनको समर्थन।
सापकोटाको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल तातिरहेकै बेला नायिका सुरक्षा पन्तले सापकोटाको समर्थनमा बोलेकी छन्। पन्तले आफ्नो फेसबुकमा एउटी स्त्रीले आफूलाई जे गर्न मन लाग्छ, त्यो गर्न पाउनुपर्छ भन्ने आशयको पोस्ट लेखेकी छन्।
‘म विहे नै नगरी बच्चा जन्माउन चाहन्छु। म विहे नगरे पनि बच्चा चाहिँ जन्माउन चाहन्छु। पहिलो कुरा, यी दुई कुराको आशय र भावनामा आकाश र धर्तीको भिन्नता छ,’ पन्तले फेसबुकमा लेखेकी छन, ‘दोस्रो कुरा, फरक नै भएपनि बाल भएन।’ त्यसपछि उनले मातृत्व एकदमै शक्तिशाली कुरा भएको र मातृत्वको सन्दर्भमा एउटी स्त्रीलाई जे गर्न मन लाग्छ, उसले त्यो गर्न पाउनुपर्ने बताएकी छन्।