नेपाली राजनितीमा ज्याँदै चर्चामा आइरहने नेता हुन्, भीमबहादुर रावल।
बहूदल आएपछि बनेको अन्तरिम सरकारमा कृषि, भूमिसुधार तथा वनमन्त्री बनेका झलनाथ खनालको पिए बनेदेखि राजनितिमा उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। उप–प्रधानसहित रक्षा, गृह र दुईपटक पर्यटन मन्त्रालय सम्हाली सकेका छन्, उनले।
अछाम निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद रावल अहिले देशकै ठूलो दल नेकपा (एमाले)का उपाध्यक्षसमेत हुन्।
भीम रावल खासगरी खरो रुपमा भारतविरोधी कुरा सदन र सडकमा राखेर चर्चामा आएका पात्र हुन्। उनी आफ्नो राष्ट्रवावी छवीका लागि चिनिन्छन र चट्टानजस्तो अडान भएका नेताका रुपमा चिनिन्छन्। भीम रावल होलीवाइन प्रकरण, एमसीसी परियोजना, नागारिकता ऐन, आईफा अवार्ड, राष्ट्रपतिको सक्रियतालगायत आदिको विरोध गरेर चर्चाको उत्कर्षमा पुगेका नेता हुन्।
रावल विवादमा पनि उत्तिकै तानिने गर्छन्, बेलाबेला। छैटौँ महाधिवेशनमा झडप हुन लागेको अवस्थामा आफ्नै दलका नेतालाई ‘बन्दुकले हान‘ भनेपछि उनी केही समय ‘बन्दुके नेता’को रुपमा परिचित बने। त्यसैगरी, ‘बालुवाटारबाट ज्यान मार्ने धम्की आयो’ भनेर पछिल्लो समय चर्चामा आएका थिए।
तर, चट्टानजस्तो अडान भएको नेता भनेर छवी बनाएका रावल अहिले भने पार्टिका दुई समूहबीच भइरहेको विवादमा ‘ढुलमुले’ चरित्र देखाइरहेका छन्। कहिले पार्टी मिल्नु हुँदैन त कहिले पार्टी मिल्नुको विकल्प छैन भन्दै हिँडिरहेका छन्।
आज उनी फेरि एकपटक चर्चामा आएका छन्, सांसद पदबाट राजीनामा दिएको कारणले। राजीनामा पत्रमा अनैतिक राजनीतिको साक्षी बन्न नसक्ने लेखे पनि उनको राजीनामालाई जोडेर विभिन्न टिकाटिप्पणी सुरु भैसकेको छ।
मिहिन ढङ्गले हेर्दा पंक्तिकारको नजरमा रावलले राजीनामा दिनुपछाडि यस्ता कारणहरु हुन सक्छन्ः
–प्रतिनिधिसभा पुर्नस्थापना भएपछि आफ्नै दलका अध्यक्षलाई बहिर्गमन गरेपछी अझै त्यही पार्टीको सांसद हुँ भन्दै सदन जान आफ्नो विगतको छवीले उनलाई दिइन।
–सदनमा शेरबहादुर देउवालाई विश्वासको मत दिए पार्टिको निर्णय विपरीत हुने भएकोले उच्च दलीय र राजनीतिक नैतिक पतन देखिने हुनाले राजीनामा गरेर आफूलाई चोख्याउने बाटो उनले रोजे।
–पहिल्यैबाट रावल एमसीसीको विपक्षमा रहेको, तर यस सरकार प्रमुखले जसैगरी पनि पास गर्ने अड्डी लिएको हुनाले आफूले विश्वासको मत दिएको प्रमको प्रस्तावलाई समर्थन गर्नुपर्ने बन्धनबाट मुक्त हुन र भोलि एमसीसीकै विरोध गरेर राष्ट्रवादी हुँदै आफ्नो हुँदै राजनीति सुनिश्चित गर्न।
–नागरिकता ऐन र अध्यादेशको कट्टर विरोधी रहेको र यो सरकारले सो ऐन पास गर्ने लक्षण देखाएकाले।
–हिजो जे जस्तो कार्य गरे पनि एमाले पार्टी मिलाउन सदैव लागेको भन्ने भ्रम आममानिसमा छर्न।
तसर्थ, जसले जे भने पनि रावलको राजीनामाको अन्तर्य कुनै बुँदामा अन्तर्निहित रहेको छ। राजीनामाले रावललाई तत्काल ‘सेफ ल्यान्डिङ’को अवसर दिए पनि यस प्रकरणले उनलाई आगामि दिनमा निकै पिरोल्ने यो पंक्तिकारको प्रक्षेपण छ।
अधिकारी कानुनका विधार्थी हुन्।