प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा सुरु भएको हो ।
यो बैठकलाई दशौं केन्द्रीय कमिटी बैठक भनिएको छ । गएको २३ फागुनमा एमाले पुनस्र्थापना भएपछि अध्यक्ष केपी शर्मा ओलीले एक्लौटी बैठक राख्दै आएका थिए ।
गएको १८ असारमा मात्रै १३औं केन्द्रीय कमिटी बैठक राखिएको थियो । तर आज बसेको बैठकलाई दशौं भनिएको छ । पार्टी एकता जोगाउने गरी दश बुँदे सहमति भएपछि बसेको पहिलो बैठकलाई दशौं भनिएको हो । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअगाडि एमालेको नवौं केन्द्रीय कमिटी बैठक बसेको थियो ।
वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष भने बैठक सहभागी भएको छैन ।
बैठकमा समसायमिक राजनीतिक परिस्थिति र पार्टी विवाद समाधान कार्यदलले तयार पारेको सहमतिको प्रस्तावबारे छलफल भइरहेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदहरुलाई पार्टी अनुशासन उल्लंघनको कारवाहीबारे छलफल हुने उनले बताए । एमाले स्थायी कमिटीको शनिबार बसेको बैठकले पार्टीको निर्देशन विपरित गए पार्टीको सदस्य नरहने चेतावनी दिएको थियो । प्रधानमन्त्री देउवालाई एमालेका २२ सांसदले मत दिएका थिए ।
त्यस्तै, आजको बैठकमा पार्टीको विधान महाधिवेशनको विषयमा पनि छलफल हुने कार्यसूची छ । यही साउन २५ मा हुन गइरहेको विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुनेछ ।