प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको खोप लगाउने कार्यको शुभारम्भ गरेका छन् ।
देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका हुन् । जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरे । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी पनि सहभागी थिए ।
उनले आज उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगंज, वीर अस्पताल, नेपाली सेना, स्थानीय निकायले सामाखुशीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरे । उनले खोप केन्द्रलाई व्यवस्थित बनाउन पनि निर्देशन दिए ।
देउवाले सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप उपलब्ध गराउनु रहेको बताए ।
उनले हिजो प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा आफ्नो पहिलो प्राथमिकता आम जनतालाई खोप उपलब्ध गराउने रहेको बताएका थिए ।
अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपहार स्वरुप दिएको थियो । यो खोप एक डोजमात्र लगाए पुग्छ ।
उक्त खोप आजबाट ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मीलगायतलाई दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा ४४ वटा खोप केन्द्रमा आजेदेखि साउन ६ गतेसम्म यो खोप लगाइनेछ ।