इजरेलको एउटा कम्पनीले निरङ्कुश सरकारहरूलाई बेचेको फोन मालवेअरबाट विश्वभरि अधिकारकर्मी, पत्रकार र वकिललाई लक्षित गरिएको मिडिया रिपोर्टहरूले जनाएका छन्।
एनएसओ नाम गरेको कम्पनीका ग्राहकहरूको स्वार्थ रहेको ठानिएका ५० हजार व्यक्तिहरूको फोन नम्बरमा उक्त स्पाइवेअर रहेको विवरण प्रमुख सञ्चार माध्यमहरू समक्ष चुहाइएको छ। त्यो विवरण कहाँबाट आयो वा कसको फोन वास्तवमा ह्याक गरिएको छ भन्ने कुरा भने स्पष्ट भइसकेको छैन। एनएसओले भने आफूले गलत कार्य नगरेको जनाएको छ।
उसले उक्त स्फटवेअर राम्रो मानव अधिकारको अवस्था भएका देशहरूमा आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति वा आतङ्कवादी प्रति लक्षित गरेर प्रयोग गर्नका लागि सेना, कानुन पालना गराउने निकाय अनि खुफिया निकायहरूलाई मात्रै उपलब्ध गराएको जनाएको छ।
पेगासस स्फटवेअरको प्रयोगबारे समाचार आइतवार द वासिङ्टन पोस्ट, द गार्डीअन र ले मोन्डे सहित विश्वभरका १४ अन्य संस्थाहरूले छापेका थिए।
पेगाससले आइफोन वा एन्ड्रोइड डिभाइसबाट मेसेज, तस्बिर र इमेल हेर्न अनि कल रेकर्ड गर्न र गोप्य रूपमा माइक्रोफोन चालु गर्न सहयोग गर्छ।
उक्त स्फटवेअरबाट निगरानीमा राखिएकाहरूको सूचीमा समाचार संस्था एएफपी, सीएनएन, द न्यूयोर्क टाइम्स र अलजजीरा सहित कैयौँ समाचार संस्थाका झन्डै १८० पत्रकारहरू रहेको बताइएको छ। बीबीसी