नेकपा एमाले केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ एमालेका सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
सोमबार बैठक च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको बैठकले आइतबार पार्टी निर्णयको अवज्ञा गर्दै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसायमिक राजनीतिक विषय, फ्लोर क्रमले एमालेको जीवनमा पारेको प्रभावबारे विचार राखेका थिए ।
बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ ।
बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सहभागी भएन ।
आजको बैठकलाई दशौं केन्द्रीय कमिटी बैठक भनिएको छ । गएको २३ फागुनमा एमाले पुनस्र्थापना भएपछि अध्यक्ष केपी शर्मा ओलीले एक्लौटी बैठक राख्दै आएका थिए ।
गएको १८ असारमा मात्रै १३औं केन्द्रीय कमिटी बैठक राखिएको थियो । तर आज बसेको बैठकलाई दशौं भनिएको छ । पार्टी एकता जोगाउने गरी दश बुँदे सहमति भएपछि बसेको पहिलो बैठकलाई दशौं भनिएको हो । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअगाडि एमालेको नवौं केन्द्रीय कमिटी बैठक बसेको थियो ।