नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले निवर्तमान प्र्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
भेटवार्ताका लागि विप्लव मंगलबार बिहान ओली निवास बालकोट पुगेका थिए । भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको बुझिएको छ ।
विप्लव नेतृत्वको नेकपालाई ओली सरकारले वार्ता गर्दै शान्तिपूर्ण राजनीतिमा ल्याएको थियो । सो क्रममा उक्त सहमतिका विषयमा पनि कुराकानी भएको नेताहरुले बताएका छन् ।
भेटवार्ताका एमालेका नेता राजन भट्टराई र विप्लव समूहका खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोला पनि सहभागी थिए ।
विप्लव पछिल्लो समय राजनीतिक भेटवार्तामा व्यस्त छन् । उनले यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, जनता समावजादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यसँग भेटवार्ता गरेका थिए ।
तर, उनले शिर्ष नेताहरूलाई किन भेटिरहेका छन् र भेटमा के कुराकानी गर्छन्न भन्ने विस्तृत खुलिसकेको छैन । अनौपचारिक स्रोतका अनुसार विप्लव बृहत कम्युनिष्ट पार्टी निर्माणका लागि लाग्नुपर्नेमा कम्युनिष्टका शिर्ष नेताहरूलाई भेट गरिरहेका छन् ।