प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
देउवा र प्रचण्डबीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई कोटेश्वरमा भेटेपछि प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
देउवा–प्रचण्ड भेट्मा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक ढंगले गरेका सबै नियुक्तिहरु खारेज गर्ने सहमति जुटेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ११ मुलुकका लागि गरिएका राजदूतहरुको सिफारिस खारेज गरेको थियो ।
त्यस्तै साझा कार्यक्रम बनाएर सहमतिका आधारमा सरकार सञ्चालन गर्नेबारेमा पनि देउवा र प्रचण्डबीच सहमित भएको छ ।
उनीहरूबीच मन्त्रिपरिषद् विस्ताबारे छलफल भए पनि ठोस निष्कर्ष निस्कन नसकेको प्रचण्ड निकट स्रोतले जनाएको छ । सो क्रममा सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम बनाएर सार्वजनिक गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको छ ।
मन्त्रिपरिषद् विस्ताबारे मंगलबार बिहान कोटेश्वरमा प्रचण्ड, माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच पनि छलफल भएको थियो । तर, नेपालले सरकारमा सहभगी हुने नहुनेबारे स्पष्ट जवाफ नदिँदा बालुवाटरमा पनि त्यस विषयमा केही सहमति हुने सकेन ।