नेपाल प्रहरीको सरुवा–बढुवामा शक्तिकेन्द्रको खुबै चासो रहने गर्छ। हरेक पटकको सरुवा–बढुवामा शक्तिकेन्द्रहरुविच ‘पावर टसल’ भएको पाइन्छ।
यसपटकको डिआईजीमा बढुवा गर्ने विषयमा पनि शक्तिकेन्द्रको उच्च चासो देखिएको छ। शक्तिकेन्द्रले बढुवामा आफ्ना मान्छेहरु पार्न खोजेपछी बढुवा प्रकृया नै रोकीएको छ।
यो सब भइरहँदा पनि प्रहरी महानीरिक्षक शैलेश थापा क्षेत्री भने मुकदर्शक बन्न बाध्य छन्। जानकारहरु उनको सुस्त कार्यशैलीले गर्दा पनि यत्तिको अवस्था बनेको टिप्पणी गर्छन्।
हाल रिक्त रहेको डिआइजीको दुई पदमा गृहमन्त्री बालकृष्ण खाँड, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र आइजीपी थापाले फरक–फरक व्यक्तिको बढुवा गर्न चाहेका छन्।
गृहमन्त्री बालकृष्ण खाँड आर्थिक अनियमिततामा मुछिएकी पूजा सिंहलाई बढुवा गरेर छाड्ने अडानमा छन् भने आइजीपी थापा सौरभ राणाको बढुवा गर्न चाहन्छन्।
तर, अन्तिममा एकाएक सिनियर टोलीमध्धेकै एसएसपी हरिराज वाग्लेको ‘इन्ट्री’ भएपछी बढुवा बढुवा प्रकृया नै अवरुद्द बनेको छ। एसएसपी वाग्ले गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका ज्वाई हुन्।
मुख्यमन्त्री पोखरेलले वाग्लेको बढुवाका लागि दबाब दिएपछि बढुवा प्रक्रिया अन्तिममा रोकिएको प्रहरी मुख्यालयनिकट श्रोतले जानकारी दिएको छ। अब नयाँ आर्थिक वर्ष सुरु भएसँगै नयाँ कार्यसम्पादन मूल्याङकन गर्नुपर्ने भएकाले अब कम्तीमा एक महिनापछि मात्र बढुवा हुने अवस्था देखिएको छ।
डिआइजीमा जूनियर टोलीबाट एसएसपीहरु दीपक थापा, सन्दीप भण्डारी, टेकप्रसाद राईलगायतले पनि लबिङ गरिरहेका छन् । गृहमन्त्री खाँड भने सिनियर टोलीलाई नै बढुवामा प्राथमिकता दिने पक्षमा छन्।