नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले कुनै व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानूनी रहेको बताएका छन्।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले हाल दिल्लीमा उपचार गराइरहेका एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने बताएको भोलिपल्टै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै सो कुरा बताएका हुन्।
त्यसबारे उनले भनेका छन्, ‘२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने व्यवस्था छ र उक्त कानून २०७५/६/२ गतेदेखि लागू भइसकेको छ।’
यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न नपाउने कानूनको यो व्यवस्थाको सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रष्ट रहेको थापाले विश्वास व्यक्त गरेका छन्।
कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी रहेको र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी नबोक्न प्रधानमन्त्री देउवालाई थापाले सचेत गराएका छन्।
त्यसबारे उनले अगाडि भनेका छन्, ‘एमाले नेता खनालको उपचार सरकारले व्यहोर्ने तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ।’ थापाले खनालको उपचारको लागि परिवार, स्वजन, पार्टी पङ्क्ति लागिरहेकै र उपचार खर्च जुटाउनुपर्ने अवस्था नै आएमा त्यसको लागि तयार रहेको बताएका छन्।
अनावश्यक टीकाटिप्पणी गर्ने गरेर खनाल र खनालको परिवारलाई दुःखी नबनाउन थापाले सबैमा आग्रह गरेका छन्। यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेपछि पनि थापाले विरोध जनाएका थिए।