नेपाली काँग्रेस क्रियाशील सदस्यता वितरणको विषयमा देखिएको बिवाद पेचिलो बन्दै गएको छ। सदस्यता वितरणमा धाँधली भएको भन्दै हजारौँ कार्यकर्ताहरु असन्तुष्ट बनेका छन्।
यहि बिवादका कारण कार्यकर्ताहरुले काँग्रेस परित्याग समेत गर्न थालेका छन्। सांसद पदबाट राजिनामा घोषणा गरेका अमरेश कुमार सिंहको समेत असन्तुष्टि सदस्यता वीतरणकै कुरामा रहेको काँग्रेसका एक नेताको दावी छ।
यता कांग्रेसको केन्द्रीय कार्यालयमा पूर्वसांसद चन्द्रमोहन यादव ५ दिनदेखी आमरण अनसन बसिरहेका छन्। उनकै समर्थनमा बिहिबारदेखी जनकपुरमा पनि कार्यकर्ताहरुले रिले अनसन शुरू गरेका छन्।
जनकपुरस्थित जिल्ला कार्यालयमा नेता नबलकिशोर यादवको अध्यक्षतामा रिले अनसन शुरू भएको हो। उनीहरुले धनुषा क्षेत्र नम्बर १ र ४ मा पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित वितरण गरिएको क्रियाशील सदस्यता खारेज गर्न माग गरेका छन्।
कांग्रेस उपसभापति विमलेन्द्र निधीनिकट क्षेत्र नम्बर १ का सभापति जितनारायण यादव र क्षेत्र नम्बर ४ का सभापति योगेन्द्र पंजियारले पार्टी कब्जा गर्ने नियतले आफ्ना पक्कडका व्यक्तिलाई क्रियाशील सस्यता बाँडेको आन्दोलित कार्यकर्ताहरुको आरोप छ। १२ हजार क्रियाशिल सदस्य रहेको धनुषामा थप ७ हजारलाई सदस्यता वितरण गरिएको छ।