प्रतिरोध नामक समूहले व्यवस्था परिवर्तनका लागि बिहीबार अर्थात् आज बानेश्वर मार्च गरेको छ। ‘यस्तो थिति फालौँ ! आउनुस्, आजै थालौँ’ मुल नारा बनाएको यो समूहले बिहीबार दिउँसो काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मार्च गरेको हो।
साउनेझरीबीच माइतीघर मण्डलामा जम्मा भएका प्रदर्शनकारीहरु एक हातले छाता र अर्को हातले विभिन्न नारा लेखिएका प्लेकार्ड समाएर ‘यस्तो थिति फालौँ ! आउनुस्, आजै थालौँ’ बोलको गीत गाउँदै साढे २ बजे बानेश्वरतिर लम्किए।
बाजागाजासहित उपस्थित प्रदर्शनकारीहरुले बानेश्वर नपुग्दासम्म यो गीत गाए। गीतका बीचबीचमा उनीहरुले ‘जात व्यवस्था मुर्दावाद!’, ‘पितृसत्ता मुर्दावाद!’, ‘पुँजीवाद मुर्दावाद!’ लागयताका विभिन्न नारा पनि लगाए।
मार्चको अग्रपंक्तिमा रहेको ‘थिएटर मल’ का कलाकारहरुले बाटाभरि सांकेतिक रुपमा नाटक प्रदर्शन गरे। बानेश्वर पुगेपछि मार्च रोकियो। मार्च कोणसभामा परिणत भयो। र, समूहले बाँयातर्फको सडकपेटीलाई मञ्च बनायो।
मार्च कोणसभामा परिणत भएपछि प्रतिरोध समूहले विभिन्न सिर्जनात्मक प्रस्तुति दियो। ‘थिएटर मल’का कलाकारहरुले नाटक मञ्चन गरेर कार्यक्रम सुरु गरे।
नाटकपछि कार्यक्रम प्रस्तोता अनिता पण्डितले अनिता माझिलाई कविता वाचनका लागि मञ्चलाई बोलाइन्। माझीले ‘के के मात्र मानेन माझीले?’ शीर्षकको कविता वाचन गरेपछि प्रस्तोता पण्डितले सुसेला संगीत समूहलाई आफ्नो प्रस्तुतिका लागि मञ्चमा आमन्त्रण गरिन्। सुसेलाले भारतीय मुलका आसामनिवासी लेखक भूपिन हजारीद्वारा रचित गीत सुनायो।
सांगीतिक प्रस्तुतिपछि स्टेजमा देखिए, कवि राजु स्याङ्तान। उनले ‘बीमा’ शीर्षकको कविता सुनाइरहँदा झरी थामिएर टलक्क घाम लाग्यो।
अब कार्यक्रममा मन्तव्यको पालो। मन्तव्य दिन मञ्चमा उपस्थित भए, अमृत विश्वकर्मा।
यसपछि कार्यक्रममा निभा शाह र विनोदविक्रम केसीले क्रमशः ‘मनसरा’ र ‘मलाई आजै समाजवाद चाहिएको छ’ शीर्षकको कविता पाठ गरे। दुवै स्रष्टाको कविताले राम्रो माहोल निर्माण गर्यो। सबैले ताली पिटे।
सुसेलाले आफ्नो सांगीतिक प्रस्तुति दिएपछि कार्यक्रम सकियो।
करिव एक घण्टासम्म चलेको सभामा लेखक तथा सामाजिक अभियन्ता नारायण वाग्ले, डा. सञ्जीव उप्रेती, संगीत स्रोता, राजेन्द्र महर्जनलगायतको उपस्थिति थियो।
के हो त प्रतिरोध समूह?
हामीले यो समूह र यसका उद्देश्य बुझ्न प्रतिरोध समूह सदस्य तथा आजको र्यालीका संयोजक मनोज खतिवडासँग बिहीबार बिहान कुराकानी गरेका थियौँ। नेपाली पब्लिकसँगको कुराकानीमा उनले प्रतिरोध सामाजिक–आर्थिक रुपान्तरणका लागि आफूलगायत केही साथीहरुले दोस्रो लहरको लकडाउनताका निर्माण गरेको बताए।
‘यो एक स्वतन्त्र तथा न्यायप्रेमी मानिसहरुले सबै खाले पीडक तथा दमनकारी व्यवस्थाविरुद्ध लड्न बनाइएको समूह हो। प्रतिरोध एक किसिमको नागरिक समाज हो, तर यसको दायरा नागरिक समाजकोभन्दा निकै फराकिलो छ,’ प्रतिरोध समूहको उद्देश्यमाथि प्रकाश पार्दै खतिवडाले नेपाली पब्लिकसँग भने, ‘नागरिक समाजका केही सीमितता हुन्छन्। यसले विभिन्न आन्दोलनमार्फत प्रचलित व्यवस्थाभित्र सुधारको माग गर्छ। तर, हाम्रो समूहले भने व्यवस्था रुपान्तरणकै लागि आन्दोलन गर्छ।’
उनले थपे, ‘जात व्यवस्था, पितृसत्ता व्यवस्था, पहाडीया व्यवस्था, पुँजीवादी व्यवस्थालगायतका सम्पूर्ण पीडक र दमनकारी व्यवस्था मिलेर यो राज्य व्यवस्था बनेको छ। हामी यी सबै खाले पीडक र दमनकारी व्यवस्थाको संरक्षक राज्य व्यवस्थाविरुद्ध लड्नेछौँ।’
उनी यो समूह नागरिक र अनागरिक दुवैको भएको बताउँछन्। उनी भन्छन्, ‘खासगरी यो समूह अनागरिकहरुको हो। यो राज्यले जसलाई नागरिक मान्न इन्कार गर्छ यो उनीहरुको समूह हो। उनीहरुको हकहितका निम्ति लड्ने समूह हो।’
प्रतिरोधको यो पहिलो प्रदर्शन हो।
सम्पुर्ण तस्विर : रिषभ ओझा/नेपाली पब्लिक